विद्युत महशूल बुझाउन तीन घण्टा पैदल

 मङ्लबार, जेष्ठ ३०, २०७४ | onlinenews

  राजिव कार्की


३० जेष्ठ २०७४ रामेछाप–  रामेछापको पुर्वी ग्रामिण भेगका विद्युत उपभोक्ता महशुल तिर्नका लागि तिन घण्टा पैदल हिँडेर रामेछाप बजार आउन बाध्य छन् । जिल्लाको साविकको साँघुटार, देउराली, गोठगाँउ र सालु गाविसका नागरिकहरु त्यसक्षेत्रबाट रामेछाप बजारसम्म चल्ने सवारीसाधन नहुँदा पैदल हिँडेर रामेछाप बजारमा रहेको विद्युत प्राधिकरणको वितरण शाखामा आउन बाध्य भएका हुन ।
त्यस क्षेत्रमा विद्युत प्राधिकरणको महशुल काउन्टर नहुँदा त्यहाँका बासिन्दाले थोरै महसुल बुझाउन धेरै पैशा खर्चिनु परेको छ । विद्युत प्राधिकरणसंग महशुल काउन्टर राख्न पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले यस्तो सास्ती खेप्नुपरेको साविकको साँघुटार गाविसका स्थानीय राजकुमार महतले गुनासो गरे ।
यातायातका साधन नचल्दा त्यस क्षेत्रका नागरिकहरु सरकारी सेवा उपभोग गर्नबाट समेत बञ्चित हुने अवस्थामा पुगेका छन् । पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको जिल्ला अस्पताल आउन पनि निक्कै सास्ती हुने गरेको महतको भनाई छ ।
सदरमुकाम मन्थलीबाट सुनारपानी भएर साँघुटार हुँदै ओखलढुङ्गासम्म मोटरबाटो सञ्चालनमा आएपछि सवारी साधनहरु अहिले यही बाटो भएर गुड्ने गरेका छ्न ।
यसअघि अरनिको यातायातले मन्थलीबाट रामेछाप बजार हुँदै साँघुटार सम्मको सेवा दिदै आएको थियो ।  तर, सुनारपानीबाट छोटो दुरीको मोटरबाटो सञ्चालन भएपछि उक्त समितिले पनि रामेछाप बजारको रुट छाडेर हाल सुनारपानी हुँदै ओखलढुङ्गाको घोराखोरीसम्म सेवा दिदै आएको छ ।
अरनिको यातायातले सेवा दिन छाडेपछि केहि समय अघि हिमाल तराई यातायातले मन्थलीबाट रामेछाप हुँदै साँघुटारसम्म बस सेवा सञ्चालन गरेको थियो तर यातायात समिति बीचको विवादका कारण उसले पनि हाल आफ्नो सेवा बन्द गरेको छ ।
रामेछाप हुँदै सवारी चलाउन समितिसँग अनुरोध गर्दा कच्चि बाटो र समिति बीचको आपसी विवादको कारण देखाउने गरेको सञ्जिवनी मेडिकल हल रामेछापका सञ्चालक एवं स्थानीय जिवनकुमार श्रेष्ठले गुनासो गरे ।
एक दर्जन यातायात सेवा समिति जिल्लामा रहेर काठमाडौँसम्म टाटा सुमो, माइक्रो तथा बस सेवा सञ्चालन गरे पनि ग्रामिण भेगलाई उपेक्षा गर्दा यस्तो समस्या भएको हो ।
छोटो दुरीको बाटो सञ्चालनमा आएसँगै राजधानीसँगको दुरी नजिकिए पनि जिल्लाको पुरानो सदरमुकामसँगको दुरी भने लम्बिएको छ । जसको कारण ग्रामिण भेगका स्थानीय सरकारी सेवा लिनबाट समेत बञ्चित हुने अवस्थामा पुगेका छन् ।

प्रतिकृया

Add