तरकारी खेतीबाट २८ लाखको घडेरी खरिद

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

रामेछाप: रामेछाप नगरपालिका–७ निवासी युवराज श्रेष्ठले सदरमुकाम मन्थलीमा तरकारी खेती गरेर तीन वर्षमा २८ लाखको घडेरी जोडेका छन् । ३ वर्ष पहिले ढेलखाल लगानीबाट तरकारी खेती सुरु गरेका श्रेष्ठले तीन वर्षकै अवधिमा २८ लाखको घडेरी खरिद गरेका हुन् ।
सदरमुकाम मन्थलीस्थित आकाशेमा ५२ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका श्रेष्ठले खर्च समेत कटाएर वार्षिक २० लाख रुपैयाँ नाफा गर्दै आएका छन् ।
मासिक ३ लाख रुपैयाँको तरकारी बजारमा बिक्री हुने कृषक श्रेष्ठले बताए । जिल्लामै राम्रो तरकारी कृषको पहिचान बनाएका श्रेष्ठलाई जिल्ला कृषि विकास कार्यालय रामेछापले सिंचाईको लागि पानी तान्ने मेशिन समेत अनुदानमा दिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले सिंचाईको लागि पानी तान्ने मेशिन अनुदानमा दिएपछि कृषक श्रेष्ठ अझै उत्साहित भएका छन् । तरकारी खेतीको कमाइमा अझै बृद्धि हुने उनको अपेक्षा छ ।
उनले काउली, भ्याण्टा, साग, चम्सुर, गाँजरलगायत मौसमी तथा बेमौसमी तरकारी लगाउँनुका साथै तरकारीको नर्सरी समेत राखेका छन् । जिल्ला कृषि विकास कार्यालयले परीक्षणको लागि पहिलो पटक जिल्ला भित्र्याएको मेशिन तरकारी कृषि श्रेष्ठलाई अनुदानमा दिएको हो ।
यस अघि मोटरबाट पानी तान्दा मासिक ६ हजार रुपैयाँसम्म बत्तिको पैसा तिर्दै आएका श्रेष्ठले अब भने बत्तिको पैसा तिर्नु नपर्ने भएको छ ।
सो मेशिनबाट ३२ एमएमसम्मको पाइपमा पानी तान्न सकिने र २४ घण्टामा २० हजार लिटर पानी तान्ने जिल्ला कृषि विकास कार्यालय रामेछापका प्रमुख, बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले बताए ।
भर्टिकल लाइनमा २० मिटरको उचाइसम्म पानी तान्न सकिने र सम्मो भागमा १ किलोमिटरसम्म तान्न सकिने मल्लले बताए । नेदरल्याण्डकोे प्रविधिबाट बनेको सो पानी तान्ने मेशिनको डिजाइन नेपाली इन्जीनियरले गरेका थिए ।
परीक्षणको रुपमा तामाकोसी नदिमा राखेर पानी तान्न प्रयोग गरिएको सो मेशिन खरिदको लागि २ लाख ५० हजार पर्ने र त्यससँग सम्बन्धित अन्य सामाग्री र पानी जामाउने पोखरी निर्माण सहित ४ लाख रुपैयाँ पर्ने मल्लले बताए ।

प्रतिकृया

Add