सम्मेलनमा सहभागी रामेछापका भुपु सैनिकहरु विरामी भएपछि एकैसाथ अस्पताल भर्ना 

 शुक्रबार, माघ १९, २०७४ | onlinenews

राजिव कार्की 


सिन्धुलीमा बिहीबार सम्पन्न भुपु सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा सहभागी भएर फर्किएका रामेछापका भुपु सैनिक तथा उनीहरुका आफन्त एकैसाथ विरामी परेका छन् ।
नेपाली सेनाको सैनिक कल्याणकारी कोषले बुधबार र बिहीबार दुई दिन सिन्धुलीमाडीमा भुपु सैनिक सम्मेलन तथा स्वास्थ्य बिविरको आयोजना गरेको थियो ।
सम्मेलनमा सहभागी हुन मंगलबार नै सिन्धुलीमाडी पुगेका रामेछापका भुपु सैनिकहरु तथा उनीहरुका आफन्तहरु एकैसाथ विरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
सम्मेलन सकिए पश्चात बिहीबार बेलुका र शुक्रबार बिहान गृहजिल्ला रामेछाप फर्किएका उनीहरु, निरन्तर झाडापखाला तथा बान्ता हुने समस्या देखिएपछि सदरमुकाम मन्थलीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् ।
सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा मात्रै दुई दर्जन भुपु तथा उनीहरुका आफन्तहरु अहिले उपचार गराईरहेका छन् । आ–आफ्नो गाउँ पुगेका भुपुसैनिकहरुले पनि गाउँकै स्वस्थ्य संस्था तथा निजि क्लिनिकहरुमा उपचार गराइरहेको जनाइएको छ ।
दुषित पानीका कारण सम्मेलनमा सहभागी भुपु सैनिकहरु एकैसाथ विरामी परेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
मध्य पृतना हेडक्वार्टर सुपारीटार ब्यारेकले संयोजन गरेको सो सम्मेलनको व्यवस्थापन सिन्धुलीको चण्डीदलगणले गरेको थियो । सम्मेलनमा सहभागी भुपु सैनिक तथा उनीहरुका आफन्तलाई सम्मेलन अवधिभर खान र बस्नको व्यवस्था पनि सोही गणमा मिलाइएको थियो ।
सम्मेलनमा सहभागी एक भुपु सैनिकका अनुसार सहभागीहरुलाई खोलाको पानी प्रयोग गर्न दिइएको थियो । जसको कारण उनीहरुमा यस्तो समस्या देखिएको हो ।
सम्मेलनमा रामेछाप, सिन्धुली र दोलखा जिल्लाका भुतपूर्व सैनिक तथा उनीहरुका आफन्तहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add