भिमेश्वर अध्ययन केन्द्रको भवन उदघाटन

 आइतवार, चैत्र ११, २०७४ | onlinenews

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ चिसापानीमा निर्माण गरिएको भिमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रको ३ कोठे पक्की भवन उद्घाटन गरिएको छ ।
नवनिर्मित भवनको उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत र युनेस्को जापानका तोमोया कानासिदाले संयुक्त रुपमा गरेका हुन् ।
भवन निर्माणको लागि युनेस्को जापानले २५ लाख, स्थानीय समाजसेवी श्यामकाजी श्रेष्ठले १ लाख १३ हजार ६ सय रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष मदनप्रसाद घिमिरेले जानकारी दिए ।
स्थानीयको श्रमदान २ लाख २९ हजार सहित भवन निर्माणमा २८ लाख ४२ हजार ६ सय रुपैयाँ लागेको अध्ययन केन्द्रका कोषाध्यक्ष इश्वरी श्रेष्ठले जानकारी दिए ।
अध्ययन केन्द्रको भवन निर्माणका लागि ध्रुवदेवि श्रेष्ठले स्वर्गीय आफ्ना पति गणेशदाश श्रेष्ठको सम्झनामा ४ आना १ पैसा ३ दाम जग्गा निःशूल्क प्रदान गरेकी थिइन ।
भवन उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले अध्ययन केन्द्रलाई नगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने बताए । अध्ययन केन्द्रमा आउने पाठकको बृद्धि गरिनुपर्ने पनि उनले बताए ।
त्यसैगरी युनेस्को जापानका प्रतिनिधि तोमोया कानासिबाले भवन निर्माण भएकोमा खुसी ब्यक्त गर्दै निर्मित भवनको भरपुर रुपमा सदुपयोग हुने पनि विश्वास ब्यक्त गरे ।
अनौपचारिक शिक्षा केन्द्रका उप निर्देशक गुणराज पोखरेलले सधै चुलो र चौका तथा घास दाउरामा ब्यस्त हुने महिलाहरु पनि केही समय निकालेर अध्ययन केन्द्रमा आई ज्ञान गुणका कुराहरु सिक्नुपर्ने बताए ।
उनले केन्द्रमा आउने नयाँ मानिसले जिल्लाका महत्वपूर्ण ब्यक्तित्व, धर्म संस्कृति र जिल्लाको महत्वपूर्ण धार्मिक स्थल नदि लगायतका जिल्लाको महत्वपूर्ण जानकारी लिएर निस्कन सक्ने अवस्था सृजना हुनुपर्ने बताए ।
कार्यक्रमका अवरमा अनौपचारिक शिक्षा राष्ट्रिय श्रोत केन्द्रका निर्देशक दिलबहादुर श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम, जिल्ला आयोजना पुनःनिर्माण इकाईका प्रमुख हेमन्त बुढाथोकी, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल मन्थली नगरपालिका–८ का अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले सूचना केन्द्रलाई सबैले सहयोग गरी प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्ने बताए ।
सोही कार्यक्रमको अवसरमा सूचना केन्द्रले युनेस्को जापान र अनौपचारिक शिक्षा राष्ट्रिय श्रोत केन्द्रलाई कदर–पत्र सहित सम्मान गरेको छ । त्यसैगरी भवन निर्माण, पुस्तक र जग्गा दाता लगायतका ब्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिकृया

Add