सरकारी कामको तरिका परिवर्तन गर्न सरोकारवालाको सुझाव

 आइतवार, कार्तिक ११, २०८१ | onlinenews
Share this

 

रामेछाप- जिल्लाका सरोकारवालाहरुले सरकारी काम गराइको तरिका परिवर्तन गर्न सुझाव दिएका छन् । जिल्ला समन्वय समिति रामेछापकोे वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो सुझाव दिएका हुन् ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागी जिल्लाका सरोकारवाला, राजनीतिक दल जनप्रतिनिधिहरूले सरकारी काम गराइको तरिका पुरातनवादी कार्यशैलीका कारण नागरिकले अनावश्यक दुःख पाएको गुनासो आउने गरेको बताएका थिए ।

सबै सरकारी कार्यालयको प्रस्तुतित् कर्मकाण्डी मात्र भएको पनि सरोकारवालाहरुको टिप्पनी थियो । प्रस्तुत् गरिएका प्रगति विवरण विधि पु¥याएर प्रस्तुत गर्ने गरेको भएपनि नयाँ र परिवर्तनगामी खालका कुरा नदेखिएको भन्दै यस्ता प्रस्तुति र कार्यशैलीमा समेत सुधार गरी नयाँ सिराबाट अघि बढ्नु पर्ने उनीहरुको सुझाव छ ।

कार्यक्रमका अधिकांश सहभागीहरुले नागरिकमैत्री भएर सेवा प्रवाह गर्न सुझाव दिएका थिए । राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुले सरकारी कार्यालयले गर्ने काममा तालमेल नभएको र भएगरेका कामहरू पनि पुरानै ढर्रामा हुँदा नागरिकहरूको गुनासो अत्यधिक रूपमा बढेको भन्दै आगामी समीक्षालाई परिणाम मुखी बनाउन अहिलेबाटै तयारीमा लाग्न पनि सुझाएका छन् ।

समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिँचाई राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले जिल्लाको विकासमा आफूले सबै पक्षसँग मिलेर जान चाहेको भन्दै सबैलाई आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे । आफू मन्त्री पदमा रहँदा ल्याउने बजेट र जिल्लाको विकासको सवालमा सबै राजनीतिक दलसँगै सांसद र स्थानीय निकायका प्रमुख, उपप्रमुखसँग समेत सल्लाह गरेर मात्र अघि बढ्ने मन्त्री तामाङको भनाइ छ । आफूलाई नागरिकले जिल्लाको विकास गर्नकै लागि भारी मतले जिताएर पठाएको भन्दै जनताको मतको कदर गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

उक्त समीक्षामा जिल्लास्थित सबै स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सबै सरकारी कार्यालयका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु पौडेलले सरकारी कार्यालयहरूले पारदर्शी भएर नागरिकले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्नु पर्ने भन्दै त्यसका लागि आफू गर्ने सहयोगमा कुनै कमी हुन नदिने बताएका छन् ।
समीक्षा कार्यक्रममा जिल्लाका ८ वटै स्थानीय तह र सबै विषयगत कार्यालयहरूले आर्थिक वर्ष २०८०/८१ मा आफ्नो कार्यालयले गरेको प्रगतिको विवरण प्रस्तुत गरेका थिए ।

सोही अवसरमा संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’मा जिल्ला भरिबाट राम्रो नतिजा ल्याउने २ वटा स्थानीय तह मन्थली नगरपालिका र सुनापति गाउँपालिकालाई सम्मान समेत गरिएको छ । त्यसैगरी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल उमाकुण्ड गाउँपालिका र मन्थली नगरपालिकालाई पनि सम्मान गरिएको थियो । एफआरएमा उमाकुण्ड गाउँपालिकाले ८५ अङ्क ल्याएको थियो भने मन्थली नगरपालिकाले ८३.५ अङ्क ल्याएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको अध्यक्षतामा भएको हो ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *