नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने

 शनिबार, मंसिर १, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको बताए । नगरप्रमुख न्यौपानेले भने, ‘नेपालमा जति पनि भ्रष्टाचार भएको छ, त्यो कि त छोराछोरीलाई डाक्टर, इन्जिनियर पढाउनको लागि भएको छ कि त स्वास्थ्य उपचार गर्नको लागि भएको छ । अर्कालाई सम्पत्ती कमाइदिने हुँदा नेपालमा भ्रष्टाचार भएको छ ।’ शनिवार राष्ट्रिय कर दिवस २०८१ को अवसरमा करदाता सेवा कार्यालय मन्थली, रामेछापले आयोजना गरेको कार्यव्रmममा उनले यस्तो बताएका हुन् ।

कार्यव्रmमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख न्यौपानेले राज्यले दिएको तलब भत्ताभन्दा बढी कमाउन खोज्दा भ्रष्टाचार हुने गरेको बताए । राज्यले लगानी गर्नको लागि पहिला ढुकुटीमा सङ्कलन हुनुपर्ने भएकाले सबै व्यवसायी तथा उद्योगीहरूलाई समयमै कर तिर्न पनि उनले आग्रह गरे । नगरप्रमुख न्यौपानेले भने, ‘करबाट नै राज्य सञ्चालन हुने हो, कर उठेन भने देश विकास हुन सक्दैन । देश विकास र राज्यले लगानी गर्नको लागि सबैले कर तिर्नु आवश्यक छ ।’


जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादर थापाले कर प्रणालीमा केही समस्या रहेको भन्दै कर प्रणालीलाई एकद्वार बनाउनुपर्ने बताए । कर प्रणालीलाई व्यवस्थित नगरी नेपालले हासिल गरेको उपलब्धिलाई सार्थक बनाउन नसकिने उनको भनाइ छ ।
२०६४ सालमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सबैभन्दा बढी कर सङ्कलन भएको स्मरण गर्दै उद्योगी तथा व्यापारी, व्यवसायीहरूले सरल रुपमा कर तिर्ने व्यवस्था गर्नु आवश्यक रहेको बताए ।


रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले कर तिर्ने वातावरण बनाउनु नै कर दिवसको उद्देश्य रहेको बताए । आफूले तिरेको करले आफूले आम्दानी गरेको स्रोत देखाउनको लागि भोलिका दिनमा पनि काम गर्ने प्रजिअ पौडेलको भनाइ थियो । प्रजिअ पौडेलले भने ‘साना ठुला जेजस्ता कारोबार गरेका छौँ, त्यहीअनुसार कानुनी प्रावधानअनुसार कर तिर्यौँ भने हामीले गरेको कारोबारको वैधानिकता प्राप्त गर्ने छौँ ।’ कर तिर्न कन्जुस्याइँ गरेर सानोतिनो रकम बचावट गरेता पनि भोलिका दिनमा आफ्नो व्यवसाय र आम्दानीमा समेत असर गर्ने भन्दै सम्पूर्ण उद्योगी, व्यवसायी तथा कर्मचारीहरूले आफ्नो आम्दानीको आधारमा निर्धारण हुने कर समयमै तिर्न आग्रह समेत गरे । आफ्नो व्यवसाय तथा आम्दानीअनुसारको कर तिर्दा भोलिका दिनमा आउन सक्ने विभिन्न झन्झटसँग फेस गर्न पनि सहज हुने प्रजिअ पौडेलको भनाइ थियो ।

रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले राज्यले सङ्कलन गर्ने करको ८० प्रतिशत हिस्तादार निजी क्षेत्र रहेको बताए । राज्यले कर लिने मात्र हैन राज्यले करदातालाई दिने सेवामा पनि ध्यान दिनुपर्ने अध्यक्ष थापा मगरको भनाइ छ । व्यवसायीले सजिलो तरिकाले कर तिर्ने वातावरण मिलाउन जरुर रहेको उनले बताए । सजिलो तरिकाले कर तिर्ने वातावरण बनेमा धेरै कर सङ्कलन हुने अवस्था रहेको उनको भनाइ छ ।


जिल्ला सहकारी सङ्घ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले नागरिकले तिरेको करको सदुपयोगको विषय छलफलकोे एजेन्डा बन्नु आवश्यक रहेको बताए । अहिले देशभर कर आतङ्कको चर्चा चलिरहेको भन्दै केही दिन पहिले गृह मन्त्रालयले जथाभावी उठाइएको करलाई रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको कुरा पनि उल्लेख गरे । सङ्घीय सरकारले समेत कर जसले जहाँ पनि लिएको छ भन्ने महसुस गरेको भन्दै यो गम्भीर कुरा भएको बताए ।

प्रभातफेरी कार्यक्रमकाे अध्यक्ष तथा करदाता सेवा कार्यालय मन्थलीका कर अधिकृत प्रतिमा घिमिरेले कर तिर्नु करदाताको दायित्व साथै देशलाई आर्थिक रुपमा बलियो र आत्मनिर्भर बनाउने साझा प्रयास भएको बताइन् । गत आर्थिक वर्षमा करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयले दिएको लक्ष्य शतप्रतिशत पूरा गर्न सफल भएको भन्दै यो आर्थिक वर्षमा पनि शतप्रतिशत लक्ष्य पूरा गर्न करदाताहरूले साथ सहयोग गर्नेमा आफूले विश्वास लिएको बताइन् । राष्ट्रिय कर दिवसको अवसरमा साताव्यापी कार्यव्रmम सञ्चालन गरिने पनि कर अधिकृत घिमिरेले जानकारी दिइन् । करको विषयमा केही जिज्ञासा तथा जानकारी आवश्यक भएमा करदाता सेवा कार्यालयमा आएर जानकारी लिन सक्ने पनि उनले बताइन् ।

“कर प्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ मनाइएको राष्ट्रिय कर दिवसको अवसरमा शनिवार बिहान प्रभातफेरी र्याली निकालिएको थियो । करदाता सेवा कार्यालय मन्थलीबाट निकालिएको प्रभातफेरी र्याली मन्थली बजार परिव्रmमा गरी कटहरबोट पुगेर पुनः जिल्ला समन्वय समिति रामेछापको सभा हलमा आई औपचारिक कार्यव्रmममा परिणत भएको थियो । प्रभातफेरीमा स्थानीय उद्योगी तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *