फलोअप समाचार : मन्थली–रामेछाप सडक मर्मत सुरु

 सोमवार, साउन २८, २०७५ | onlinenews

रामेछाप- जिल्लाको सदरमुकाम मन्थलीबाट पुरानो सदरमुकाम रामेछाप बजार जोड्ने १७ किलोमिटर सडक खण्ड मर्मत गर्न सुरु गरिएको छ ।
सडक कालोपत्रे भएको पाँच महिनामै फुटेर चिराचिरा हुनुका साथै ठाउँठाउँमा पहिरो गएपछि सडक मर्मत गर्न थालिएको हो ।
एसियाली विकास बैंकको आर्थिक सहायतामा २०१७ को फेब्रुअरी महिनासम्म पूरा गर्ने गरी बज्रगुरु कन्सट्रक्सन प्रालिले जिम्मा लिएको सडकको कालोपत्रेको काम गत चैत्रमा सकिएको थियो ।
कालोपत्रे गरिसक्नु पर्ने सम्झौता भन्दा एक वर्ष ढिला गरि सडक कालोपत्रे गर्ने काम सकिएको केही महिनामै सडक फुटेर चिसाचिरा भएको छ ।
मन्थलीदेखि रामेछापसम्म १७ किलोमिटरको बीचमा दर्जन भन्दा बढि ठाउँमा सडक भासिनुका साथै पहिरो झरेर यातायात सञ्चालन गर्न समेत जोखिम भएपछि सडक मर्मत गर्न थालिएको हो ।
सडक कालोपत्रे गर्ने क्रममा भित्ताको माटो काटेर थुपारेको माटो माथि नै कालोपत्र गरेको र कालोपत्रे राखेर आवश्यकता अनुसारको कम्प्रेसन नदिएको कारण सडक भासिएको हो ।
ठेकेदारले लापर्वाही गरेपछि सडक निर्माणमा निगरानी राख्न स्थानीयले गठन गरेको निगरानी समितिले पनि सडकको गुणस्तरीयतामा चसो नदिंदा गुणस्तरीय सडक निर्माण हुन नसकेको स्थानीयको भनाई हो ।
मन्थली–रामेछाप सडक १४ करोड ६५ लाख रुपैयाँमा कालोपत्रे गरिएको हो । सडक कालेपत्रे भइरहेको बेलामा पनि काम गुणस्तरीय नभएको भनि स्थानीय उपभोक्ताले गुनासो गर्दै आएका थिए ।

प्रतिकृया

Add