रामेछापको उत्तरी क्षेत्र जाने सडक अवरुद्ध हुँदा यात्रु मारमा

 बुधबार, भदौ १३, २०७५ | onlinenews

रामेछाप- जिल्लाको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीस्थित छतिवने खोलामा आएको बाढीले सडक बगाएपछि पाँच दिनदेखि जिल्लाको उत्तरी क्षेत्र जाने यात्रायात अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।
एक हप्तादेखि परेको निरन्तर वर्षाको कारण छतिवने खोलामा आएको बाढीले खिम्तीबाट उत्तरी क्षेत्र जाने करिब एक मिलोमिटर सडक बगाएको छ ।
२०७४ सालको श्रावण ३० गते आएको बाढीले छतिवने खोलाकोे पक्की पुल सहित एक किलोमिटर सडक बगाएपछि सडक मर्मत गरि यातायात सञ्चालन गरिएको थियो ।
गत वर्ष गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाले १७ लाखको लागमा मर्मत गरेको सडक यस वर्ष पनि बाढीले बगाएको हो ।
छतिवने खोलामा आएको बाढीले बगाएको सडक मर्मतको लागि लगिएको जेसीबि मेसिन समेत खोलामा पल्टिएपछि सडक मर्मतको काम समेत अगाडि बढ्न सकेको छैन ।
सडक बगाएपछि रामेछाप जिल्लाको उत्तरी क्षेत्र जाने यात्रुहरु दोलखा जिल्लाको तामाकोसी, मैनापोखरी, जिरी हँुदै करिब एकसय किलोमिटर घुमेर जान बाध्य भएका छन् ।
दोलखा जिल्लाबाट घुमेर जानुपर्दा निकै समस्या भएको रामेछापको उत्तरी क्षेत्र जाने यात्रुको गुनासो छ ।
दोलखा जिल्लाको तामाकोसी, मैनापोखरी, जिरी हुँदै रामेछाप जानुपर्दा दोलखा जिल्लाका ट्राफिक प्रहरीले दुःख दिने गरेको सवाली चालक प्रकाश श्रेष्ठले बताए ।
छतिवने खोलामा आएको बाढीले पटक–पटक सडक र पुल बगाउने गरेकाले सो सडकलाई दीगो बनाउन वैकल्पिक सडक निर्माण गर्नुपर्ने स्थानीयको भनाई छ ।

प्रतिकृया

Add