
रामेछाप- रामेछापको मन्थली नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयका ५६ जना विद्यार्थीलाई स्काउट ट्रुप लिडर तालिम दिइएको छ । माध्यमिक र आधारभूत गरी २८ वटा विद्यालयका ५६ जना विद्यार्थीलाई नगरपालिकाको सहयोगमा तालिम दिइएको हो । तालिम स्थानीय स्काउट कार्यालय मन्थलीले दिएको हो ।
पुस १० गतेदेखि १२ गतेसम्म मन्थलीमा सञ्चालित आवासीय तालिममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही, कमला थापा, प्रशिक्षक भिमतुना शाक्य र अन्तर्राष्ट्रिय आयुक्त गुञ्जबहादुर श्रेष्ठ लगायतले स्काउटको सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका थिए । शुक्रवार तालिमको समापन गर्दै मन्थली नगरपालिकाका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक गोपाल श्रेष्ठले तीन दिने आवासीय तालिममा सिकेका कुराहरूलाई प्रयोगमा ल्याउन प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
‘कुनै पनि तालिम सञ्चालन गर्नु ठुलो कुरा होइन । तालिममा सिकेका कुराहरू व्यवहारिक रूपमा प्रयोगमा ल्याउनु महत्वपूर्ण विषय हो, त्यसैले स्काउट ट्रुप लिडर तालिमबाट सिकेका कुराहरूलाई आफ्नो विद्यालयमा प्रयोगमा ल्याउन आग्रह गर्दछु ।’ श्रेष्ठले भने ।
तालिमका प्रशिक्षक नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही र कमला थापाले तीन दिने तालिमबाट सहभागीहरूले महत्वपूर्ण सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्राप्त बताउँदै यसको व्यवहारिक प्रयोगमा आउने विश्वास व्यक्त गरे । मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्र वान, तथा सुयोग्य नागरिक बन्न स्काउट ट्रुप लिडर तालिम अत्यावश्यक रहेको बताए ।
तालिममा विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनाका बारेमा जानकारी गराउँदै बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमबाट कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान, तथा सुयोग्य नागरिक बनाउने बारेमा आवश्यक छलफल पनि भएको आयोजक स्थानीय स्काउट कार्यालय मन्थलीका आयुक्त भुवनकुमार श्रेष्ठले जानकारी दिए ।
तालिममा सहभागी स्काउट ट्रुप लिडर विद्यार्थीहरूले तीन दिने तालिमले महत्वपूर्ण सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हासिल भएको बताए । तालिमका अवसरमा स्काउट मार्च पासका लागि आवश्यक सामग्री समेत विद्यालयहरूलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।