
रामेछाप- रामेछाप जिल्लाको सन् २०२५ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्थाको बारेमा समीक्षा गरिएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र इन्सेकको आयोजनामा शुक्रवार समीक्षा कर्यक्रम आयोजना गरिएको हो । मानव अधिकार संरक्षण सञ्जालका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकको तर्फबाट पहिलो ६ महिनामा सङ्कलन भएका घटनाको बारे जानकारी गराइएको थियो । जिल्ला प्रतिनिधि नवराज पथिकले पहिला ६ महिनामा १० वटा घटना अभिलेखीकरण भएको जानकारी दिए । जसमा घरेलु हिंसा, जातीय विभेद, धम्की, बालअधिकार लगायतका घटना रहेका उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले हत्याका २, आत्महत्या दुरुत्साहनका १, यौनजन्य अपराधका ६, जातीय विभेदका १, घरेलु हिंसाका ५ वटा घटना प्रहरीमा आएका जानकारी दिए । त्यस्तै यो ६ महिनामा आत्महत्याका १८ वटा घटना घटेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै जिल्ला अदालत रामेछापका श्रेस्तेदार मधुसूदन आचार्यले मानव अधिकारको विषयमा अदालत अति संवेदनशील रहेको बताए । अदालतले हरेक काम गर्दा मानव अधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने उनले स्पष्ट पारे ।
सहायक जिल्ला न्यायाधीवक्ता विनीता कपालीले बाल अधिकारको विषय र हिंसा पीडित महिलाहरूको विषय अहिले मानव अधिकारको हिसाबले निक्कै संवेदनशील बनेको बताइन् । उनले यस्ता विषयमा मानव अधिकारकर्मी र न्यायिक क्षेत्रमा काम गर्ने निकायले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताइन् । बालबालिका र हिंसा पीडित महिलाको सुरक्षाको विषयमा सबैले ध्यान दिनु पर्नेमा पनि उनले जोड दिइन् ।
रामेछाप बारका अध्यक्ष यादव दाहालले जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्दै जाँदा बाल अधिकार उलङ्घनका विषय बढ्दै गएका बताए । सम्बन्ध विच्छेदका कारण बालबालिकाको बाबु आमासँग बस्न पाउने अधिकारसमेत खोसिने गरेकोले यो विषय निक्कै गम्भीर विषय बन्दै गएको उनको भनाइ थियो ।
गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले मानव अधिकारका विषय उठान गर्दा कतै आग्रह वा पूर्वाग्रह नराखी उठाउनु पर्ने बताए । उनले सामाजिक सद्भाव नै खलबल्याउने गरी अनावश्यक विषय उठाउँदा पीडित भनिएकाहरू थप पीडामा पर्नेतर्फ मानव अधिकारकर्मीहरू सचेत हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दीपक घिमिरेले यस्ताका खालका समीक्षा कार्यक्रम नियमित हुनुपर्ने बताए । यसले समस्याको पहिचान हुने र समाधानको लागि पनि सहयोग गर्ने उनको भनाइ छ ।