नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
नवलपुर– ‘चीनका राजा, भोटको नून, ज्यानै दिए नि नदेख्ने गुन’ भनेर्झैं नवलपरासी सुस्ता पूर्वकी कल्पना कार्कीका श्रीमान कामका लागि यूएइ जानुभएको १५ वर्ष पूरा भएको छ । तर श्रीमान विदेश गएदेखि नै कल्पनाको मनमा खुसी भन्दा धेरै गुनासा थुप्रिए । जसरी भोट जाँदा मदनले मुनालाई बिर्सिएका थिए, त्यसैगरी कल्पनाको श्रीमानले पनि कल्पनालाई बिर्सन भयो, भन्नुहुन्छ कल्पना । त्यसरी विदेश गएर घरपरिवार भुलेका कल्पनाका श्रीमानले वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका कारण घर सम्झेका छन् । जसरी मदनले लेखेको चिठी मुनाको हातमा पर्छ त्यसरी नै ।
नवलपुर जिल्लाको मध्यबिन्दु ३, ब्रम्हस्थान बस्ने कल्पनाको श्रीमानले एकाएक श्रीमतीको माया बिर्सिएपछि कल्पनालाई न दिनमा भोक लाग्थ्यो, न त रातमा निन्द्रा नै । आम्दानीको दीगो श्रोत समेत नभएकी कल्पनालाई घर चलाउन समेत गाह्रो भएको थियो । विदेशबाट श्रीमानले एकाएक पैसा पठाउन छाडेपछि कल्पनाका रहरहरु चितामा सल्किएको आगोले निमेशभरमै खरानी भएको लास झैं बन्न पुगे ।
कल्पनाले विदेशबाट आएको पैसा आफूखुसी खर्च गर्थिन् । तर आफूले गरेको खर्चको हिसाब राख्नुपर्छ भन्ने कुरा उनको मनले अहराएन । श्रीमानसँग विदेशबाट पठाएको पैसाको हिसाब थियो तर कल्पनासँग केमा खर्च भयो त्यसको लेखा नै थिएन । जसको कारण श्रीमानले अनेकथरी शंका गर्थे । कुरैकुरामा अरुसँग सम्बन्ध बनाएर मैले कमाएको सबै पैसा खुवाइस् भन्ने आरोपसमेत लगाउन पछि परेनन् कल्पनाका श्रीमान । आफ्नो दुःख बुझिदिने श्रीमानले समेत राम्रो नगरेपछि घरपरिवार समेतबाट हेलाको पात्र बनिन् उनी । विदेशबाट घरमा पैसा आउने बाटो नै बन्द भएपछि खेतीपाती र दैनिक ज्याला मजदुरी गरेर ज्यान पाल्नुपर्ने अवस्था आयो कल्पनालाई ।
तर कल्पनाले परिवारको लागि रोजेको बाटो गलत थिएन । गाउँबाट विदेश गएर मनग्य पैसा कमाएर फर्किएकाहरुले घडेरी जोडे । श्रीमानले विदेशबाट पैसा पठाएकै बेला उनलाई पनि अरुले झैं घडेरी जोड्न मन लाग्यो । श्रीमानले नियमित पैसा पठाइहाल्नु हुन्छ भन्ने विश्वासले उनले २४ प्रतिशत व्याजमा ६ लाख ५० हजार ऋण लिइन् र घडेरी किनिन् । तर श्रीमानको कमाइ कल्पनाले सोचेजस्तो भएन । विदेशमा श्रीमानले काम गर्ने कम्पनी राम्रो चलेन । श्रीमानको कमाइ घट्यो । एकातिर विदेश जाँदा लागेको ऋणको बोझ उनका श्रीमानको थाप्लोमा थियो; अर्कातिर घडेरी जोड्दा लिएको ऋण थपियो । ऋणले थाप्लो किचिएपछि कल्पना दम्पत्तीको सम्बन्ध पनि बिग्रियो ।
ऋणैऋणले कल्पनाको व्यवहार बिग्रियो । बिदेशबाट श्रीमानले फोन गरेर जति पैसा पठाए पनि ऋण नसकिने भनि तनाब दिन्थे । शायद मैले गरेको घरखर्च अनि जग्गामा गरेको लगानीमाथि शंका लागेरै होला श्रीमान सम्पर्क विहीन हुनुभयो भन्छिन् कल्पना ।
कल्पनालाई एकदिन ऋण मुक्त हुन्छु भन्ने थाहा त थियो तर तत्कालका लागि साहारा दिने कोहि थिएनन् । छोराहरुको स्कुल फि वापत स्कुलमा तिर्ने पैसा पनि सासुको नाममा पठाउन थाल्नु भयो कल्पनाले भनिन् । कल्पनाको पैसा आउने बाटो कुनै थिएन । आफू अनि छोराछोरी बिरामी पर्दा समेत माइतीसँग हात पसार्नुपर्ने अवस्था बन्न थाल्यो । खाँचो टार्नकै लागि कल्पना कहिले दाजुभाइ त कहिले दिदीबहिनीसँग सहयोगको हात पसार्थिन् । यसैगरी चलेको थियो कल्पनाको दैनिकी ।
कल्पनाको गाउँमा मध्यबिन्दु नगरपालिकाले हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) कोे नेतृत्वमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरेको थियो । हिकोडेफले डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा उनको गाउँमा पनि वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षा चलाउने भयो । कक्षामा छलफल हुने विषयको बारेमा बुझेपछि कक्षाले कल्पनाको ध्यान तान्यो । कक्षाको बारेमा जानेपछि एकातिर बिग्रिएको सम्बन्ध अनि भत्कन लागेको घरायसी व्यवहारलाई कक्षाले मलमपट्टि लगाउन सक्छु कि भन्ने आश पलायो कल्पनाको मनमा । कक्षामा सहभागी भएपछि कल्पनाले परिवारसँगको व्यवहारमा सुधार गर्नुपर्ने कुरा थाहा पाइन् । आफूले परिवारसँग गरेको व्यवहार र गर्नुपर्ने व्यवहारलाई दाँजेर हेरिन् । सँधै परिवारमा बेमेल हुने कल्पनाको फेरिएको बानीले परिवारसँगको सम्बन्ध सुधार हुँदै गयो । बल्ल कल्पनाले श्रीमानसँग कसरी विश्वास टुटेछ भन्ने कुराको चुरो पत्ता लगाइन् ।
कक्षामा बसेपछि कल्पनाले विदेशमा गर्नुपर्ने दुःख अनि परदेशीले देख्ने सपनाका बारेमा बुझ्न पाइन् । श्रीमानले पठाएको पैसा अनि त्यसको हिसाब किताब नहुँदा श्रीमानको व्यवहार फेरिएको हो कि भन्ने लाग्यो कल्पनालाई । कल्पनाले कक्षामा विदेशबाट आएको मात्र नभइ परिवारमा हुने आम्दानी र खर्चको हिसाब राख्नु पर्ने कुरा थाहा पाइन् । थाहा पाएको कुरालाई व्यवहारमा पनि उतारिन् । दैनिक रुपमा हुने आम्दानी र खर्चको हिसाब दुरुस्त टिपेर थाख्नु थालिन् । आफूले टिपेको हिसाब छोराहरु मार्फत दैनिक रुपमा विदेशमा रहेका श्रीमानलाई पठाउन थालिन् ।
आगोको रापले फलाम त गल्छ, मान्छेको मन न हो, विश्वास नै जितेपछि नपग्लने भन्ने कुरै भएन । श्रीमानले छोराहरुलाई आमासँग बोल्न मन छ भनी मेसेन्जरमा खबर गर्नुभए छ । अब भने कल्पना खुसी हुँदै भन्नुहुन्छ ।
श्रीमानले मसँग बोल्ने मन गरेपछि म आफैं श्रीमानसँग निहुरिँए । त्यसअघि नै भिन्न भएर घरमा एक्लै बस्ने सासुलाई समेत उनले सँगै राखेकी थिइन् । कक्षामा उनले सम्बन्ध राम्रो बनाउनको निम्ती राम्रो सोच राख्नुपर्छ भन्ने बिषय पनि आफूले कक्षामा बुझेको बताइन् कल्पनाले । कक्षामा जानेकै कुरा गरेकी हुँ, उनले थपिन् । यसरी एकाएक हाम्रो जीवनको खराब ऋतुको अन्त्य भयो अनि ९ वर्षदेखि बिग्रिएको श्रीमानसँगको सम्बन्धमा सुधार आयो । विगतको जस्तै सम्बन्धमा दरार नआओस् भनी अहिले सासु र श्रीमानसँग हरेक कुरामा सल्लाह लिने गरेको बताउछिन् ।
छोराले मेसेन्जरबाट मैले राखेको आम्दानी खर्चको हिसाब पठाउथ्यो । मैले राखेको खर्चको दैनि हिसाब श्रीमानले हेर्नुहुँदो रहेछ । त्यही खर्च देखेपछि यत्तिञ्जेलसम्म कसरी घर धान्यौ भन्नु भयो । श्रीमानको यो प्रश्नले मेरो बोली नै रोक्एिको थियो कल्पना भन्छिन् । अहिले श्रीमान र श्रीमतीबिच आम्दानी र खर्चको मात्र होइन १५ बर्ष अघि विदेश जाँदा हाम्रो जस्तो सम्बन्ध थियो त्यस्तै छ उनले भनिन् ।
यतिबेलासम्म कल्पनाले आफूले किनेको घडेरीको ऋण तिर्न सकेकी थिइनन् । श्रीमानसँगको सम्बन्ध सुधार भएपछि आफ्नो नाममा रहेको ऋण तिर्न माइतीले सहयोग गर्नुभयो । उता श्रीमानले पैसा पठाउन छाडेपछि आफ्नै नाममा राख्नु भएको रहेछ । केहि समयपछि श्रीमानले माइतीबाट लिएको सापटी पनि फिर्ता दिनुभयो कल्पनाले भनिन् । कल्पनाले उतिबेला ६ लाख ५० हजारमा किनेको जग्गाको मुल्य अहिलेको बजार भाउ अनुसार ११ लाख रुपैयाँमा बिक्री हुन्छ ।
कल्पनालाई आफ्नो नाममा ऋण रहुञ्जेल कहिल्यै चैन भएन । उनले कक्षामा जाँदा ऋण तिर्नका लागि पैसा कमाउने पेशा समात्ने सपना देखेकी थिइन् । यसैबिचमा नगरपालिकाद्वारा मेड्पा कार्यक्रमले कक्षाका सहभागीहरुलाई बाँसका सामग्री बनाउने तालिम दियो । उनले पनि बाँसबाट डस्टविन, फोटो फ्रेम, पूmलदानी, चुरा स्ट्याण्ड जस्ता सामग्री बनाउन सिकिइन् । उनी घर बसी–बसी बाँसका सामानहरु बनाउछिन् । सामान चाहिनेहरु घरमै आएर मैले बनाएका सामानहरु किनेर लान्छन् । सुरुमा १ हजार ५ सयको लगानीबाट सुरु गरेको व्यवसायले अहिले फुर्सदको समयमा काम गर्दा पनि महिनाको ५ हजार भन्दा बढि आम्दानी दिइरहेको छ । घरबाट सामान बिक्री हुन छाडे पनि नगरपालिकाले नै हामीले उत्पादन गरेको सामाग्रीको बजारीकरण गरिदिने प्रतिवद्धता जनाएको छ भन्छिन् कल्पना । यसरी परिवार अनि श्रीमानसँग बिग्रिएको सम्बन्ध सुधारका लागि वित्तीय साक्षरता कक्षा रामबाण बनेको बताउछिन् कल्पना ।
मध्यबिन्दु नगरपालिकामा कार्यरत हिमालयन सामुदायिक विकास मञ्चकी वित्तीय साक्षरता सहजकर्ता पूर्णकला बि.सी. को सहयोगमा सागर बिक्रम बस्नेत