रामेछाप । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीलाई बिनाकारण जागिरबाट हटाउने र कर्मचारीको तलब काट्नेसम्मको हर्कत गरेको खुल्न आएको छ । नियोजित र अन्यायपूर्ण ढङ्गले जागिरबाट हटाउनुका साथै श्रम शोषणसमेत गरेको जागिरबाट हटाइएको कर्मचारीहरुको आरोप छ ।
सेतो गुराँस राष्ट्रिय बालविकास सेवा कार्यालयले रामेछाप जिल्लाका तीन स्थानीय तह—मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा इसिडी हार्मोनी परियोजना सञ्चालन गर्दै आएको छ । सन् २०२५ मार्चदेखि सुरु भइ सन् २०२९ मार्चसम्म सञ्चालन गर्ने गरी तीनवटै स्थानीय तहसँग सम्झौता भइ कार्यान्वयनमा रहेको उक्त परियोजनाअन्तर्गत वि.सं. २०८२ कार्तिकमा तीनवटै स्थानीय तहमा गरी २५ जना मेन्टर र तीन जना बालविकास संयोजक गरी कुल २८ जना कर्मचारी भर्ना गरिएको थियो ।
चार वर्षे परियोजनाका लागि कर्मचारी नियुक्त गरेको सेतो गुराँसले एक वर्ष नपुग्दै करार सम्झौता नवीकरण नगरी विभिन्न बहाना बनाएर कर्मचारी हटाएको पीडितहरूको गुनासो छ । संस्थाले एकपटक पनि स्पष्ट सोधपुछ नगरी आफूहरूलाई अन्यायपूर्ण रूपमा हटाएको निवर्तमान कर्मचारीहरूको भनाइ छ ।
परियोजना अधिकृत र लेखा सहायकद्वारा अभद्र व्यवहारको आरोप
सेतो गुराँस राष्ट्रिय बालविकास सेवा कार्यालय रामेछापकी परियोजना अधिकृत मैया बस्नेत र लेखा सहायक करुणा पौडेलले आफूहरूमाथि अभद्र व्यवहार गरेको निवर्तमान इसिडी मेन्टरहरूले आरोप लगाएका छन् ।
सेतो गुराँसमार्फत लिखु तामाकोशी गाउँपालिकामा कार्यरत रहेकी निवर्तमान इसिडी मेन्टर धनमाया खड्काले लेखा सहायक करुणा पौडेलले कार्यालयभित्रै आफूहरूमाथि अभद्र व्यवहार गरेको बताइन् । नियमानुसार पाउने यातायात खर्च लिन फाराम भर्न खोज्दा उल्टै दुर्व्यवहार गरिएको उनको भनाइ छ ।
“त्यो दिन ममाथि गरिएको व्यवहारले म घर फर्कँदा कुन गाडीमा आएँ भन्ने समेत थाहा पाएनँ, अत्यधिक तनावमा परेँ,” खड्काले भनिन्, “गाडी भाडाको फाराम भर्छु भन्दा ‘तपाईंले फाराम भर्न पाउनुहुन्न, के आधारमा भर्नुहुन्छ, तपाईंले कुनै सुविधा पाउनुहुन्न, काम नगरी सुविधा लिन मिल्दैन’ भन्नुभयो ।”
उनले परियोजना अधिकृत मैया बस्नेतले बिनाकारण आफ्नो आधार तलबबाट आठ हजार रुपैयाँ कटौती गरेको आरोप पनि लगाइन् । विद्यालयमा गएर काम गरेको दिनको टाइमसिट खाली छाड्न निर्देशन दिइएपछि त्यसैअनुसार पठाएको तर पछि नियोजित रूपमा तलब काटिएको उनको भनाइ छ । “१ गतेदेखि ८ गतेसम्मको टाइमसिट खाली राख्न भन्नुभयो, तर पछि आठ हजार रुपैयाँ तलब काटियो,” खड्काले गुनासो गरिन् ।
निवर्तमान इसिडी मेन्टर सीता कार्कीले पनि परियोजना अधिकृत बस्नेतले नियोजित रूपमा तलब कटौती गरेको बताइन् । उनकाअनुसार एक महिनाको आधार तलबबाट तीन हजार रुपैयाँ काटिएको थियो । काम गरेको दिनकोसमेत तलब काटिएको उनले बताइन् । “काम गरेको दिनको पनि टाइमसिट खाली राख्न भनियो, त्यसैअनुसार पठाएँ, तर पछि थाहा भयो तलब काट्न पो रहेछ,” कार्कीले भनिन् ।
यसैगरी लिखुतामाकोशी गाउँपालिका–५ की निवर्तमान इसिडी मेन्टर उषा श्रेष्ठले परियोजना अधिकृत बस्नेतले पटक–पटक संस्थाभित्र कार्यरत कर्मचारीसँग नाम जोड्दै निराधार आरोप लगाएर नियोजित रूपमा चरित्र हत्या गर्ने गरेको समेत आरोप लगाइन् । पछिल्लो समय कुनै जानकारी नै नदिई आफूलाई मेन्टरबाट हटाइएको भन्दै उनले यो विषय जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने बताएकी छन् ।
गर्भवती भएकै कारण हटाइएको आरोप
सेतो गुराँसले गर्भवती भएको कारण देखाउँदै एक महिला कर्मचारीलाई अन्यायपूर्ण ढङ्गले हटाएको आरोप पनि लागेको छ । निवर्तमान इसिडी मेन्टर सीता कार्कीले गर्भवती भएकै कारण आफूलाई मेन्टर पदबाट हटाइएको बताइन् । “मलाई किन हटाइयो भनेर सोध्दा ‘तपाईं गर्भवती हुनुहुन्छ, बच्चा भएपछि काम गर्न गाह्रो हुन्छ’ भनियो,” उनले भनिन्, “कामको कमजोरी नभई गर्भवती भएकै कारण हटाइएको भनिएको उनले बताइन ।”
कर्मचारीहरु हटाइएको विषयमा बुझ्न सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा कार्यालय रामेछापकी परियोजना अधिकृत मैया बस्नेतलाई उनको मोबाइलमा फटक–पटक फोन गर्दा पनि फोन उठेन । रामेछापकी परियोजना अधिकृत बस्नेतले फोन नठाएपछि सेतो गुराँस बाल विकास सेवाको केन्द्रीय कार्यालयको टेलीफोन नम्बरमा फोन गर्दा एक कर्मचारीले फोन उठाएर दोहोरो संवाद भएपछि रामेछापको कर्मचारी निकालिएको विषयमा जानकारी दिन कार्यकारी प्रमुखलाई फोन दिन्छु भनि उनले फोन राखे । उनले कार्यकारी प्रमुखसँग कुरा गर्न एकछिनमा फोन गर्नु भनेका थिए तर पछि फोन गर्दा केन्द्रको फोन पनि रिसिभ भएन ।
पालिका प्रमुखहरू भन्छन् : समन्वय नै गरिएन
रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले कर्मचारी हटाउने विषयमा संस्थाले नगरपालिकासँग कुनै पनि समन्वय नगरेको बताए । परियोजना अधिकृतसँग छलफल गर्दा आगामी दिनमा समन्वय गर्ने जवाफ आएको उनको भनाइ छ । गर्भवती र सुत्केरी महिलाले काम गर्न नसक्ने भन्दै हटाइएको जवाफ संस्थाका कर्मचारीबाट आएको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पनि कर्मचारी हटाउने विषयमा कुनै समन्वय नभएको बताएका छन् । यस्तै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले पनि बिना परामर्श संस्थाले आफूखुसी कर्मचारी हटाएको बताए । आफ्नो पालिकामा दुई जना मेन्टर र एक जना बालविकास संयोजक हटाइए पनि कुनै समन्वय नगरिएको अध्यक्ष महतको भनाइ छ । यता रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पीडितले उजुरी लिएर आएमा छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गरिने बताएका छन् ।
