रामेछाप– रामेछापको गोकुलगङ्गा गाउँपालिकाका सबै वडामा वितरण भइरहेको खानेपानीमा दूषित ई–कोली जीवाणु फेला परेको छ । गाउँपालिकाले विभिन्न खानेपानी योजनाबाट सङ्कलन गरिएको पानी परीक्षण गर्दा अधिकांश नमूनामा ई–कोली ब्याक्टेरिया देखिएको जनाएको छ ।
खानेपानीमा यस्तो जीवाणु भेटिनुलाई स्वास्थ्यका दृष्टिले गम्भीर समस्या मानिन्छ । गाउँपालिकाका १ नम्बरदेखि ६ नम्बर वडासम्म सञ्चालनमा रहेका १८ वटा फरक–फरक खानेपानी योजनाको पानी परीक्षण गरिएको थियो । ती नमुना जनस्वास्थ्य कार्यालय रामेछापस्थित प्रयोगशालामा पठाएर परीक्षण गरिएको हो । प्रयोगशालाको प्रतिवेदनमा धेरै योजनाको पानीमा ई–कोली जीवाणु फेला परेपछि गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ ।
गाउँपालिकाले बुधबार प्रकाशित गरेको सूचनामा प्रभावित खानेपानी योजनाका मुहानहरूको विवरणसमेत समावेश गरिएको छ । साथै स्थानीयलाई पिउने पानी उमालेर, शुद्धिकरण गरेर वा फिल्टर गरेर मात्र प्रयोग गर्न अनुरोध गरिएको छ ।
गाउँपालिका स्वास्थ्य शाखा संयोजक जागिर रायका अनुसार हालसम्म दूषित पानीका कारण कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको जानकारी प्राप्त भएको छैन । उनले नियमित खानेपानी परीक्षणको क्रममा जीवाणु फेला परेको स्पष्ट पार्दै हालसम्म झाडापखाला, ज्वरो वा अन्य संक्रमणका घटना रिपोर्ट नभएको बताएका छन् ।
उनका अनुसार समस्या देखिएपछि मात्र परीक्षण गरिएको नभई नियमित निगरानीकै क्रममा पानीको नमुना परीक्षणका लागि पठाइएको थियो । यसले गाउँपालिकाले खानेपानीको गुणस्तर अनुगमनमा चासो दिएको देखिएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार ई–कोली जीवाणु मिसिएको पानी सेवन गर्दा पेट दुख्ने, वान्ता हुने, झाडापखाला लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिन सक्छन् । कतिपय अवस्थामा हैजाजस्ता गम्भीर संक्रमण फैलिने जोखिमसमेत रहने भएकाले यस्तो पानीलाई अत्यन्त संवेदनशील रूपमा लिनुपर्ने बताइन्छ ।
गाउँपालिकाको खानेपानी तथा सरसफाइ शाखाले पनि सबै वडा अध्यक्षलाई स्थानीयवासीलाई सचेत गराउन आग्रह गरेको छ । शाखाका प्रतिनिधि कृष्ण श्रेष्ठका अनुसार हाल तत्कालका लागि पानी उमालेर र शुद्ध बनाएर प्रयोग गर्न जनचेतना फैलाउने काम भइरहेको छ । उनले यस विषयमा थप योजना बनाउन गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिसँग छलफल गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
वर्षायाममा मानव तथा पशुपक्षीको दिसा बगेर खानेपानीको स्रोतमा मिसिँदा यस्ता जीवाणु फैलिने सम्भावना बढी हुने विज्ञहरू बताउँछन् । खानेपानी तथा सरसफाइ महासंघ रामेछापका लेखबहादुर कार्कीका अनुसार उपभोक्तामा सुरक्षित खानेपानी प्रयोगबारे अझै पर्याप्त सचेतना नहुँदा समस्या दोहोरिने गरेको छ ।
उनले खानेपानीको मुहान संरक्षण, पानी संकलन ट्यांकीको नियमित सफाइ, वितरण लाइनमा हुने चुहावट नियन्त्रण तथा संरचनाको नियमित मर्मतसम्भारमा ध्यान नदिँदा पानी दूषित हुने गरेको बताए । यस्ता संरचनात्मक सुधार र नियमित सरसफाइमार्फत ई–कोली लगायतका जीवाणु नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।
स्वास्थ्य शाखा संयोजक रायले अब स्वास्थ्यकर्मीमार्फत स्थानीय तहमा सचेतनामूलक सन्देश प्रवाह गरिने बताएका छन् । उनले स्थानीयलाई पानी उमालेर, फिल्टर गरेर वा सोडिस विधि अपनाएर मात्र प्रयोग गर्न प्रेरित गरिने जानकारी दिए ।
खानेपानीमा ई–कोली देखिएपछि प्राविधिकहरूले मुहान संरक्षण, वर्षाको भेल पानी मुहानमा पस्न नदिने संरचना निर्माण, नियमित क्लोरिन प्रयोग तथा सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।
रामेछाप जिल्लामा यसअघि पनि यस्ता समस्या देखिएका थिए । गत वर्ष उमाकुण्ड गाउँपालिका र रामेछाप नगरपालिकाको खानेपानीमा समेत ई–कोली जीवाणु भेटिएको थियो । विशेषगरी उमाकुण्डमा दूषित पानीका कारण धेरै स्थानीय बिरामी परेका घटनाले खानेपानी सुरक्षाप्रति थप सतर्कता आवश्यक रहेको देखाएको थियो ।
