रामेछाप- रामेछापको सदरमुकाम मन्थलीको आकाशेस्थित मन्थली अस्पतालमा सोमवार आयोजना गरिएको वृहत् निःशुल्क स्वास्थ्य शिविरमा १ हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक हस्पिटलको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाले आयोजना गरेको उक्त शिविरमा १ हजार ५५ जनाले स्वास्थ्य सेवा लिएको मन्थली नगर अस्पतालका मेसु डा. केशव सिंह धामीले जानकारी दिए ।
डा. धामीले भने– सेवाग्राही सङ्ख्याको हिसाबले १ हजार ५५ जना आउनुभयो तर एउटा बिरामीले विभिन्न किसिमको स्वास्थ्य सेवा लिनुभएको छ । एउटा व्यक्तिले लिएको फरक–फरक सेवालाई छुट्टै गणना गर्दा १ हजार ३ सय १३ पुगेको छ । शिविर बिहान ८ बजेदेखि साँझसम्म सञ्चालन गरिएको थियो । शिविर विशेषगरी दुर्गम क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

केएमसीका हेल्थ क्याम्प कोर्डिनेटर मदनलाल श्रेष्ठको नेतृत्वमा आएको टोलीले शिविरमा स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिविरका लागि काठमाडौँबाट २० सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आएका थिए । शिविरमा ११ वटा विभागमार्फत सेवा दिइएको मन्थली अस्पतालले जानकारी दिएको छ । जसमा ८ विभागका विशेषज्ञ चिकित्सक र ३ विभागका विशेष परीक्षण सेवा समावेश गरिएको थियो । शिविरमा भिडियो एक्स–रे, इसिजी तथा ल्याबका सात प्रकारका परीक्षण निःशुल्क गरिएको थियो ।
शिविरमा जाँच गरिएको १ हजार ३ सय १३ जनामध्ये ४८ जनलाई थप उपचारको लागि रेफर गरिएको मन्थली अस्पतालका मेसु डा. केशव सिं धामीले जानकारी दिए ।

रेफर गरिएका बिरामीमध्ये गरिब तथा विपन्न १० जनालाई केएमसी भक्तपुरको दुवाकोटस्थित युनिट–२ मा निःशुल्क उपचार गरिने केएमसी अस्पतालका हेल्थ क्याम्प कोर्डिनेटर मदनलाल श्रेष्ठले जानकारी दिएका छन् । १० जना बाहेकका बिरामीलाई भने ५० प्रतिशत छुटसहित उपचार सेवा उपलब्ध गराइनेछ । अपरेशन, बेड चार्ज, आइसियु, भेन्टिलेटर लगायतका सेवामा समेत छुटको व्यवस्था गरिने र औषधीमा १० प्रतिशत छुट दिइने श्रेष्ठले जानकारी दिए । आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीलाई आवश्यक परे निःशुल्क खानासमेत उपलब्ध गराउने श्रेष्ठले बताए ।
केएमसीले भक्तपुरको दुवाकोटस्थित युनिट–२ मा असार मसान्तसम्म सिटी स्क्यान र एमआरआईमा २५ प्रतिशत तथा अन्य अधिकांश सेवामा ५० प्रतिशत छुटको व्यवस्था रहेको पनि उनले बताए । जनरल बेड चार्ज, इसिजी तथा टिकट शुल्कमा शतप्रतिशत छुट प्रदान गरिएको पनि उनले जानकारी दिए ।
श्रेष्ठले रामेछापका बिरामी विगतदेखि नै केएमसीमा धेरै आउने गरेको उल्लेख गर्दै जिल्लाका बिरामीलाई प्राथमिकताका साथ सेवा र छुट दिँदै आएको बताए । उनले वडाको सिफारिसका आधारमा विपन्न बिरामीलाई थप सहुलियत उपलब्ध गराइने पनि बताएका छन् ।
