रामेछाप- नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिकलाई पितृशोक परेको छ । महासङ्घ रामेछाप शाखाका पूर्व अध्यक्षसमेत रहेका पथिकका पिता रामेछाप नगरपालिका–८, बागियाबर्क निवासी गोविन्द प्रसाद घिमिरेको आइतवार ९४ वर्षको उमेरमा निधन भएको हो ।
पिताको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापले शोक वक्तव्य जारी गरेको छ । महासङ्घले स्वर्गीय घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना व्यक्त गरेको छ ।
महासङ्घले शोकको यस कठिन घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेको छ ।
महासङ्घ रामेछापका सचिव नवराज श्रेष्ठद्वारा हस्ताक्षरीत वक्तव्यमा स्वर्गीय घिमिरेको निधनले सिंगो पत्रकारिता क्षेत्र नै मर्माहित बनेको उल्लेख गरिएको छ ।
