Logo

तालिमसँगै लगानी र बजारको व्यवस्था गर्नुपर्छ : जयप्रकाश श्रेष्ठ



रामेछाप – नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका कार्यकारिणी सदस्य जयप्रकाश श्रेष्ठले महिलालाई उद्यमी बनाउन तालिमसँगै लगानी, आर्थिक व्यवस्थापन र बजारीकरणको व्यवस्था गर्नुपर्ने बताएका छन् । तालिम दिएर मात्र उद्यमी नबन्ने भन्दै उनले महिलाले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्न र साना व्यवसाय सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सरोकारवाला निकायले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्थलीमा आयोजित महिला उद्यमशीलता विकास तालिम कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले महिलालाई थोरै लगानीमा सञ्चालन गर्न सकिने घरेलु तथा परम्परागत उत्पादनमूलक व्यवसायतर्फ आकर्षित गर्नुपर्ने बताए । स्थानीय स्तरमा उत्पादन हुने वस्तुको बजार पहिचान गरी व्यावसायिक रूपमा उत्पादन गर्न सके महिलालाई आत्मनिर्भर बनाउन ठूलो लगानी आवश्यक नपर्ने उनको भनाइ थियो ।
’हामीले धेरै तालिम सञ्चालन गर्‍यौँ, तर तालिम लिएका कति जना वास्तविक उद्यमी बने र कति जनाले व्यवसाय सञ्चालन गरे भन्ने समीक्षा गर्न आवश्यक छ,’ उनले भने, ’तालिमपछि व्यवसाय सञ्चालन गर्न आर्थिक स्रोत चाहिन्छ । त्यससँगै उत्पादनलाई बजारमा कसरी पुर्‍याउने र कसरी चिनाउने भन्ने विषय पनि महत्वपूर्ण छ ।’

श्रेष्ठले महिलालाई उद्यमी बनाउन टपरी उत्पादन, अचार निर्माणलगायत कम लगानीमा सञ्चालन गर्न सकिने व्यवसायको सम्भावना रहेको उदाहरण दिए । सामान्य देखिने यस्ता उत्पादनको बजार सम्भावना ठूलो भए पनि स्थानीय स्तरमा उत्पादन र आपूर्तिको व्यवस्था हुन नसकेको उनले बताए ।

आफूले हालै सोह्रश्राद्धका लागि आवश्यक टपरी गाउँमा नपाएर काठमाडौंबाट ल्याउनुपरेको अनुभव सुनाउँदै उनले स्थानीय महिलाले टपरी उत्पादन गर्न सके राम्रो आम्दानी गर्न सक्ने बताए । जिल्लाका होटल तथा अन्य व्यवसायमा आवश्यक पर्ने टपरी स्थानीय स्तरमै उत्पादन गरेर आपूर्ति गर्न सके महिलाका लागि रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने उनको भनाइ थियो ।
’हाम्रो परम्परा र संस्कृतिमा टपरीको महत्वपूर्ण स्थान छ । तर सामान्य लाग्ने यही वस्तु पनि गाउँमा नपाएर काठमाडौंबाट ल्याउनुपरेको छ,’ उनले भने, ’थोरै लगानीमा टपरी उत्पादन गरेर जिल्लाका होटल तथा अन्य बजारमा बिक्री गर्न सकियो भने महिलालाई आत्मनिर्भर बन्न ठूलो सहयोग पुग्छ ।’

उनले घरमै बसेर बनाउन सकिने अचारको व्यवसायमा पनि राम्रो सम्भावना रहेको बताए । मासु, लप्सी र डल्ले खुर्सानीको अचार नेपालबाट अमेरिका, क्यानडालगायत विदेशसम्म बिक्री भइरहेको उदाहरण दिँदै उनले स्थानीय उत्पादनलाई गुणस्तरीय बनाएर बजारसम्म पुर्‍याउन सके महिलाले राम्रो आम्दानी गर्न सक्ने बताए ।

श्रेष्ठले अहिले व्यवसाय सञ्चालनको परम्परागत शैली परिवर्तन हुँदै गएको पनि उल्लेख गरे । सामाजिक सञ्जाल र डिजिटल माध्यमबाटै वस्तुको प्रचारप्रसार तथा बिक्री गर्न सकिने भएकाले व्यवसाय सञ्चालन गर्न अनिवार्य रूपमा सटर भाडामा लिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । यसले थोरै पुँजी भएका महिला उद्यमीलाई समेत व्यवसाय सुरु गर्न सहज बनाउने उनले बताए ।

उनले महिलाको आर्थिक परनिर्भरता अन्त्य गर्न उद्यमशीलता विकास आवश्यक रहेको उल्लेख गर्दै सामान्य व्यवसायबाट प्राप्त हुने आम्दानीले पनि घरपरिवार सञ्चालनमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए । महिलाले आफ्नो व्यक्तिगत आवश्यकताका लागि समेत परिवारका अन्य सदस्यसँग पैसा माग्नुपर्ने अवस्थाको अन्त्य गर्न आर्थिक आत्मनिर्भरता आवश्यक रहेको उनको भनाइ थियो ।
यसैबीच, श्रेष्ठले विपद् व्यवस्थापनका लागि समिति गठन मात्र पर्याप्त नहुने भन्दै आवश्यक बजेटको व्यवस्था हुनुपर्ने बताए । विपद्का बेला स्थानीय तह र निजी क्षेत्रले चाहेर पनि पर्याप्त आर्थिक स्रोत अभावमा प्रभावकारी काम गर्न नसक्ने उनको अनुभव थियो ।

भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्यले महासङ्घमार्फत सहयोग संकलन गरी पठाइएको उनले जानकारी दिए । प्रधानमन्त्री राहत कोषमा सहयोग पठाउनुका साथै बागमती प्रदेशको विपद् व्यवस्थापन समितिमार्फत संकलित रकम महासङ्घलाई उपलब्ध गराइएको उनले बताए । उक्त रकमबाट प्रभावित व्यवसायीलाई अस्थायी भवन तथा टहरा निर्माण गरी पुनः व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने उद्देश्य रहेको उनको भनाइ थियो ।

मन्थली नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा महिला उद्यमशीलता विकास तालिम कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा उनले महिला उद्यमीलाई उपलब्ध अवसरको सदुपयोग गर्दै स्थानीय स्रोत, सीप र बजारको सम्भावना पहिचान गरेर साना तथा मझौला व्यवसाय सञ्चालन गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्