रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष केशवप्रसाद घिमिरेले महिला उद्यमशीलता विकासका लागि सहज प्रक्रिया र स्पष्ट ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । उद्यम व्यवसाय सञ्चालन गर्न चाहने महिलाले ऋण प्राप्त गर्दा झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य गरी ब्याजदर र ऋण प्रक्रियाबारे स्पष्ट जानकारी दिनुपर्नेमा उनले जोड दिएका छन् ।
मन्थलीमा आयोजित महिला उद्यमशीलता विकास तालिम कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले उद्यमशीलता प्रवद्र्धनका लागि आर्थिक स्रोत महत्वपूर्ण हुने बताए । व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने ऋण सहज रूपमा उपलब्ध भए महिलालाई उद्यमी बन्न थप सहयोग पुग्ने उनको भनाइ थियो ।
उनले ऋण उपलब्ध गराउने प्रक्रियालाई सरल र पारदर्शी बनाउनुपर्ने उल्लेख गर्दै ब्याजदरबारे ऋणीलाई स्पष्ट जानकारी दिनुपर्ने बताए । उद्यमीले ऋण लिँदा कति ब्याज तिर्नुपर्ने हो र ऋण प्राप्त गर्न के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भन्ने विषयमा सम्बन्धित निकायले प्रस्ट पार्नुपर्ने उनको धारणा थियो ।
घिमिरेले उद्यमशीलता विकासका लागि स्थानीय सरकार, वित्तीय संस्था र उद्योग वाणिज्य सङ्घबीच समन्वय आवश्यक रहेको पनि बताए । कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिले उद्यमीका समस्या र आर्थिक सहजीकरणका विषयमा ध्यान दिनुपर्ने उनको आग्रह थियो ।
मन्थली नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित महिला उद्यमशीलता विकास तालिमको सफलताको शुभकामना दिँदै उनले सहभागी महिलालाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
उनले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्य टुंग्याएका थिए ।
