भारतबाट ३३ बालबालिकालाई उद्धार

 शनिबार, चैत्र ५, २०७३ | onlinenews

काठमाडौं चैत ५
भारतको बिहार राज्यका विभिन्न बाल गृहमा रहेका ३३ जना नेपाली बालबालिकालाई उद्धार गरी नेपाल ल्याइएको छ ।
केन्द्रीय बालकल्याण समितिको पहलमा भारतको निर्देशक बालगृह मुजफ्फरपुरबाट १३ जना बालक, सेवा संकल्प बाल गृह मुजफ्फरपुरबाट २ जना बालिका, बैंगलोरबाट ४ जना बालक र दरभंगा बालगृहबाट १४ जना बालकको उद्धार गरिएको हो ।
उद्धार गरिएकामध्ये अधिकांश सीमा क्षेत्रका बालबालिका छन् । केन्द्रीय बाल कल्याण समितिका अनुसार सिरहाका ९ जना, सर्लाहीका ३ जना, बारा, काठमाडौ र पर्साका २र२ जना र जनकपुर, सप्तरी, रौतहट, काभ्रे, बाँके, रुकुम, सिन्धुपाल्चोक, डोटी, महोत्तरी,दार्चुला, रौतहट, नवलपरासी, गुल्मी र कञ्चनपुरका १र १ जना छन् ।
भारतको विभिन्न बालगृहबाट उद्धार गरेर ल्याइएका बालबालिकामध्ये कतिपय खुला सीमाका कारण भारत छिरेको र एक्ला एक्लै हिँडिरहेका बेला प्रहरीले समातेर बालगृहमा बुझाएको, कोही काममा लगाइदिने प्रलोभन देखाएर आफन्तले लगेर विचल्ली बनाएको, कोही घरेलु कामदारका रुपमा काम गरिरहेका बेला भागेको र कतिपय आफै कामको खोजीमा भारत तर्फ जाँदा उतै अलपत्र परेको भेटिएको केन्द्रीय बालकल्याण समितिका कार्यक्रम व्यवस्थापक नमुना भुसालले बताउनुभयो ।
‘अहिलेसम्म त्यस्तो मानव गिरोहबाट लगेको भन्ने सूचना आएको छैन, उनीहरुसँग व्यक्तिगत रुपमा कुराकानी गर्दा पनि एक्लाएक्लै गएर अलपत्र परेको, कोही कामको खोजीमा गएको र अलपत्र परेको जस्ता कारण भेटिएका छन्, अब थप अनुसन्धानपछि कसको संलग्नता थियो भन्ने पुष्टि हुन्छ’ उहाँले भन्नुभयो । उद्धार गरिएका बालबालिका ६ बर्षदेखि १८ वर्षसम्मका छन् । ती मध्ये कोही भारतमै ४ वर्ष बिताइसकेका र कोही भर्खरै पुगेको बताइएको छ । पनि छन् ।
सबै प्रक्रिया पूरा भएपछि बालकल्याण समितिको नेतृत्वमा छोराछोरी नेपाल संस्थाका प्रतिनिधिसहित ७ जनाको टोली यही चैत १ गते मुजफ्फरपुर गएको थियो । टोलीमा संलग्न केन्द्रीय बालकल्याण समितिका कार्यक्रम व्यवस्थापक नमुना भुसालका अनुसार चैत ३ गते मुजफ्फरपुर बालकल्याण समितिसँग बालबालिका नेपाल फर्काउने विषयमा दोहोरो छलफल गरी पटनास्थित समाज कल्याण निर्देशनालयमा आग्रह गरियो । सोही दिन समाज कल्याण निर्देशनालयमा बैठक बसी नेपाली बालबालिकालाई फिर्ता पठाउन स्वीकृति लिइयो ।

प्रतिकृया

Add