जेष्ठ ३१ निर्वाचन बहिस्कार गर्ने संघीय गठबन्धनको निर्णय

 शुक्रबार, जेष्ठ १२, २०७४ | onlinenews

१२ जेष्ठ २०७४


काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।
मोर्चाले मधेस बन्दसहितको आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ । गठबन्धनले बिहिबार दिउँसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दुई दिनसम्म थरुहट तथा मधेस बन्द गर्नेसहितको आन्दोलनको घोषणा गरेको हो ।
घोषित कार्यक्रमअनुसार जेठ १३ गते सबै स्थानीय तहमा मसाल जुलुस गर्ने , १४ गते लाठी जुलुस प्रदर्शन गर्ने, १५ गते गणतन्त्र दिवसको दिन श्रद्धाञ्जली सभा आयोजना गर्ने, १६ गते स्थानीय तहका निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने र १७ गते मलास जुलुस निकाल्ने तय गरिएको छ । यस्तै जेठ १८ र १९ गते थरुहट र मधेस बन्द गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
दोस्रो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत जेठ १९ गते मनोनयन दर्ता गर्ने दिन तय गरिएकोमा सोहि कार्यक्रमलाई प्रभावित पार्ने गरी गठबन्धनले बन्दको आह्वान गरेको हो ।
यसअघि बिहिबार बिहान बसेको राजपाको बैठकले आन्दोलनमा जाने निर्णय गर्दै सो निर्णयलाई गठबन्धनको बैठकले अनुमोदन गरी पत्रकार सम्मेलनबाट सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा यो पहिलो चरणको आन्दोलनको घोषणा गरिएको र १९ गतेपछि थप सशक्त आन्दोलनको घोषणा गरिने जानकारी दिइएको छ । राजपाले संविधान संशोधन हुनुपर्ने, तराई मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गरिनु पर्ने, चुनाव लड्नको लागि दल दर्ता र निर्वाचन चिन्ह पाउनु पर्ने जस्ता प्रमुख माग राख्दै आएको छ ।
सरकारले राजपाकै माग पूरा गर्ने प्रयास स्वरुप जेठ ८ मा २२ स्थानीय तह थप्ने निर्णय गरेपनि एकातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ भने राजपाले नै पनि अस्विकार गरेको छ ।

प्रतिकृया

Add