पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान

 आइतवार, साउन ६, २०८१ | onlinenews
Share this

 

रामेछाप- नेपाल एमाले रामेछापले पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । पुष्पलाल दिवसको अवसरमा नेपाल एमाले रामेछापले आयोजना गरेको तीनदिने कार्यक्रम अन्तर्ग आइतवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले रामेछापले तीनदिने विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत आइतपार सदरमुकाम मन्थलीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको प्राविधिक सहयोगमा एमाले रामेछापले रक्तदान कार्यक्रम आयोजना गरेको हो । मन्थलीको देवकोटा चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए । ‘‘नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा एमाले रामेछापले विभिन्न कार्यक्रम आयोजना गरेको छ । पुष्पलालको जन्म जिल्ला भएकाले पनि रामेछापमा विशेष कार्यक्रमहरू हुने गरेका छन् । रगतको अभाव हुन नदिन र रगत अभावको कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हो” कार्कीले भने ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा शनिवार पुष्पलालको जन्म थलो भङ्गेरीमा रहेको पुष्पलाल स्मृति पार्कको सरसफाइ नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाल बताए । आइतवार मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भयो । सोमवार भङ्गेरीमा प्रवचन कार्यक्रम आयोजना गरिएको छ, अध्यक्ष कडरियाले भने ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.स. १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा भएको थियो । पिता भक्तलाल श्रेष्ठ रामेछाप मालपोत कार्यालयको हाकिम भएर आएको बेला माता तुलसीकुमारीको कोखबाट माइलो छोराको रूपमा उनको जन्म भएको थियो ।

२००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको प्रचार गर्न कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेका थिए । निरङकुश पञ्चायत शासन विरुद्ध लड्दा लड्दै २०३५ साल साउन ७ गते पुष्पलालको भारतको नयाँ दिल्लीस्थित अलइण्डिया मेडिकल इष्स्टिच्यूटमा निधन भएको थियो । उनको स्मृतिमा नेपालका कम्युनष्टिहरुले साउन ७ गते स्मृति दिवस मनाउदै आएका छन् ।

Share this

प्रतिकृया

Add