रामेछापको फर्पुमा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु, जिल्ला विपद व्यवस्थापन समितिद्धारा पीडित परिवारलाई २ लाख ५० हजार राहत प्रदान

 शुक्रबार, साउन ११, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुको पहिरे टोलका बिमान तामाङ्को घर पहिरोले भत्किदा ३ जना किशोरीहरुको मत्यु भएको छ । घरमाथिबाट झरेको पहिरोले घर भत्काएपछि घरभित्र आगो तापेर बसेका ३ जना किशोरीहरुको मृत्यु भएको हो । अबिरल वर्षका कारण बिमान तामाङको घर माथिबाट झरेको पहिरोले घर भत्किदा घरभित्र आगो तापेर बसेका किशोरीहरुको घरले पुरिएर मृत्यु भएको गोकुलगङ्गा गाउँपालिका–६ का अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिए । दिनभरी रोपाइँ गरेर आएका बिमान तामाङका छोरीसहितका ३ किशोरीहरु बिहीवार साँझ बिमान तामाङको घरमा आगो तापेर बसेका बेला पहिरो आएको थियो ।


घरले पुरिएर पहिरे टोलका बिमान तामाङको १८ वर्षीया छोरी सिता तामाङ, पेमा तामाङकी १५ वर्षीया छोरी आशिका दोङ र पदम तामाङकी १३ वर्षीया छोरी लक्ष्मी तामाङको मृत्यु भएको हो । घटना लगत्तै उद्दारको प्रयास गरिए पनि घर भत्किएर पुरिएकाहरुलाई जिवितै उद्दार गर्न नसकिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् । घटना भएको थाहा पाए लगत्तै उद्दारको प्रयास गरिए पनि उनीहरुलाई जीवितै उद्दार गर्न नसकिएको प्रजिअ निरौलाको भनाइ छ । पीडितहरुलाई थप पीडा नहोस् भन्ने उद्देश्यले मृतकहरुको पोष्टमार्टम घटना स्थलमै गर्ने व्यवस्था गरिएको पनि प्रजिअ निरौलाले जानकारी दिइन् । प्रजिअ निरौला बिहीवार बिहानै मृतकहरुको पोष्टमार्टमका लागि डाक्टारसहितको टोली लिएर घटना स्थल पुगेकी थिइन् । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला घटना स्थलमै पुगेर विपद व्यवस्थापन समितिको तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार २ लाख ५० हजार रुपैयाँका दरले नगद राहत समेत प्रदान गरेकी छन् । बिहीवार साँझ पहिरोमा परी मृत्यु भएका परिवालाई राहत प्रदान गर्न प्रजिअ निरौला शुक्रवार बिहानै घटना स्थलमा पुगेकी हुन् । मृतकहरुको घटना स्थलमै पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।


त्यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले पनि पीडितहरुलाई तत्काल बस्ने बासको व्यवस्थाका लागि प्रति परिवार १ थान त्रिपाल, खाना पकाउँने र खाना खाने भाँडाब्रतन साथै लगाउने तथा ओढ्ने कपडा र पानी थाप्नको लागि बाल्टी वितरण गरेको छ । पीडित परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, भाँडाब्रतन लगायतका एकसोरो सामग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका सभापति शिव कार्कीले जानकारी दिए । पीडित परिवारको लागि आवश्यक पर्ने थप सहयोग गाउँपालिकाले गर्ने गोकुलगङ्गा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले बताए । अहिले गाउँपालिकाको खाता सञ्चालन भइनसकेकाले केही समय लाग्ने बताउँदै कार्यपालिकाबाट निर्णय गरेर पीडितहरुका लागि आवश्यक थप सहयोग गाउँपालिकाले गर्ने अध्यक्ष खड्काले बताएका छन् ।

Share this

प्रतिकृया

Add