जागिर छोडेर चुनाव लड्दै ओखलढुंगाका शिक्षक

 बिहिबार, जेष्ठ १८, २०७४ | onlinenews

१८ जेठ २०७४ ओखलढुङ्गा– ओखलढुङ्गाका शिक्षक जागिर छोडेर चुनावी मैदानमा उत्रिएका छन् । शिक्षकको पेशागत संगठनमा रहेर राजनीतिमा क्रियाशील शिक्षक पार्टीले चुनावमा उम्मेदवार बनाउने भएपछि जागिर छोडेर चुनावी मैदानमा उत्रिएका हुन् ।
जिल्ला शिक्षा कार्याल ओखलढुङ्गाका अनुसार जिल्लाका १४ जना शिक्षकले राजीनामा दिएर स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार बनेका छन् ।
ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट  गरि १२ शिक्षक स्थानीय तहको मुख्य पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
टिका पाएपछि काँग्रेस शिक्षक एमालेमा
शिक्षक पेशा रही काँग्रेस निटक शिक्षक संघमा आबद्ध रहेका इच्छा गुरुङलाई नेकपा एमालेले जिल्ला सिद्धिचरण नगरपालिकाको उपमेयरको टिक दिएपछि काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरणको उपमेयरको उम्मेद्वार बनाएपछि गुरुङ्गले काँग्रेस छोड्नु भएको हो । एमालेबाट उपमेयरको टिकट पाएसँगै गुरु शिक्षक पेशाबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनु भएको छ ।
त्यस्तै खिजीदेम्वा गाउँपालिकामा चण्डेश्वरी उच्च माविका प्रधानाध्यापक बेदबहादुर रोकालाई नेपाली कांग्रेसले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ । उहाँ पनि शिक्षकबाट राजीनामा दिएर चुनावी मैदानमा हुनुहुन्छ । त्यहाँ एमालेका लाक्पा गेल्बु शेर्पासँग चुनावी प्रेतिस्पर्धामा कांग्रेस कार्यकर्ता कमजोर भएकाले शिक्षक रोकालाई नै अघि सारेको श्रोतको भनाई छ ।
त्यस्तै एमालेले चम्पादेवीगाउँपालिका अध्यक्षमा शिक्षक हरिप्रसाद घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे पनि शिक्षकबाटै राजीनामा दिएर चुनावी मैदानमा उत्रिनु भएको हो । नेकपा माओवादी केन्द्रबाट मोलुङ गाउँपालिका उपाध्यक्षमा अघि सारिएकी अञ्जुला घिसिङ पनि शिक्षक पेशा छोडेर आउनुभएको हो ।
वडामा पनि शिक्षक चुनाव लड्दै
विभिन्न पार्टीबाट वडा अध्यक्षमा चुनाव लड्ने शिक्षक धेरै छन् । नेपाली कांग्रेसबाट सिद्धिचरण नगरपालिका–१ मा प्रधानाध्यापकबाट राजीनामा गरेर तीर्थ घिमिरे चुनावी मैदानमा हुनुहुन्छ । अरु उम्मेद्वार एमालेसँग प्रतिस्पर्धामा आउन नसक्ने भएकाले प्रधानाध्यापकबाट राजीनामा गराएर उम्मेद्वार बनाएको नेपाली कांग्रेसले जनाएको छ ।
शिक्षकबाट राजीनामा गरेर चम्पादेवीगाउँपालिका–५ को वडा अध्यक्षमा मोहन तामाङ कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ ।
नेकपा एमालेबाट तीनजना शिक्षक पेशाबाट राजीनामा दिएर वडा अध्यक्षको चुनावी मैदानमा छन । एमाले निकट शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष विशाल पौडेल लिखु गाउँपालिका–८ को अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यस्तै एमालेबाट सीताराम दाहाल सिद्धिचरण नगरपालिका–३ को वडा अध्यक्ष र चम्पादेवी गाउँपालिकामा अंक बोगटी पनि शिक्षक छोडेर उम्मेदवारको तयारीमा जुट्नु भएको छ ।
माओवादी केन्द्रबाट मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा घनश्याम दाहाल र चिसंखुगढी गाउँपालिका–३ मा कांग्रेसबाट माओवादीमा प्रवेश गरी देवराज दाहाल वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

प्रतिकृया

Add