स्थानीय तहका प्रमुख र उपप्रमुखलाई अभिमूखिकरण तालिम दिइने

 शुक्रबार, जेष्ठ १९, २०७४ | onlinenews

१९ जेठ २०७४ काठमाडौं स्थानीय विकास मन्त्रालयले पहिलो चरणको निर्वाचनबाट निर्वाचित महानगरपालिका, उपमहानगर र नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिका प्रमुख र उपप्रमुखलाई तीनदिने अभिमुखीकरण तालिम दिने भएको छ ।
स्थानीय तहको शासन र सञ्चालन र व्यवस्थापन बारे प्रमुख र उपप्रमुखलाई मन्त्रालले तालिम दिन लागेको हो ।
अधिकाशं अधिकार स्थानीय तहमै गएका र स्थानीय तह नयाँ अभ्यास पनि भएकाले सेवाको निरन्तरता, गुणस्तरता र आर्थिक पारदर्शीता कायम राख्न अभिमुखीकरण तालिमको आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
तालिममा निर्वाचित प्रमुख र उपप्रमुखको काम कर्तव्य अधिकार र जिम्मेवारीका बारेमा जानकारी र सेवा वितरणका क्रममा आउन सक्ने सम्भावित समस्या र समाधानका उपायहरु बारे सिकाइने मन्त्रालयले जनाएको छ ।
निर्वाचित पदाधिकारीको क्षमता विकासका गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो तालिममामा मन्त्रालयले सचिव तहको निर्णयबाट अभिमूखिकरण तालिम दिने निर्णय गरेको हो । सरकारले पहिलो चरणमा निर्वाचित भएको तीन प्रदेशका प्रतिनिधिलाई छुट्टा–छुट्टै तालिम दिन बताएको छ ।
मन्त्रालयले ३ नम्बर प्रदेशका निर्वाचित प्रतिनिधिलाई ५ समूहमा तालिम दिंदै छ । जस अन्तर्गत जेठ २५ गतेदेखि २७ गतेसम्म सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट र मकवानपुरका नगरपालिकाका मेयरलाई धुलिखेलमा तालिम दिने भएको हो । मन्त्रालयले ५ समूहमा विभाजन गरेर एउटा समूहमा ४८ जनाका दरले तालिम दिन लागेको हो ।
यस्तै दोस्रो समूहमा  काठमाडौं, ललितपुर, चितवन र भक्तपुर नगरपालिका, महानगरपालिकाको मेयर र उपमेयरलाइ पनि त्यही मितिमा धुलीखेलमै तालिम आयोजना गरेको छ । दोस्रो समूहमा ३ नम्बर प्रदेशमा २४ स्थानीय तहका ४८ जना जननिर्वाचित प्रतिनिधी सहभागि हुनेछन् भने तेश्रो समूहमा गाउँपालिका प्रमुख र उपप्रमुखहरुलाई पनि विभिन्न समूह बनाएर २५, २६ र २७ गते तालिम दिने भएको हो ।

त्यसैगरी मन्त्रालयले ४ नम्बर प्रदेशका प्रतिनिधिलाई पोखरामा तालिम दिने भएको छ । जेठ ३०, ३१ र असार १ गते गरि तीनदिन अभिमूखिकरण तालिम दिने तयारी मन्त्रालयले गरेको छ । प्रदेश नम्बर ४ का प्रतिनिधिलाई ४ समूह बनाएर सबै स्थानीय तहका पदाधिकारीलाई तालिम दिने व्यवस्था गरेको छ भने प्रदेश नम्बर ६ का प्रतिनिधिलाई पनि ५ समूह बनाएर प्रमुख र उपप्रमुखहरुलाई असार ४, ५ र ६ गते सुर्खेतको विरेन्द्रनगरमा तालिम दिने तयारी गरेको छ ।
मन्त्रालयले ६ नम्बर प्रदेशका प्रमुख र उपप्रमुखलाई ५ समूह बनाएर एकै मितिमा छुट्टा–छुट्टै तालिम दिन लागेको हो ।

प्रतिकृया

Add