हाजिरजमानीमा छाडिएका नै हत्यारा

 मङ्लबार, असार १३, २०७४ | onlinenews

 १३ असार २०७४ -काठमाडौं 


प्रहरीले रामेछापको दुर्गम मानिने तत्कालीन सैपु गाविसमा करिब साढे पाँच वर्षअघि भएको एक किशोरीको हत्याकाण्डका आरोपीलाई पक्राउ गर्न सफल भएको छ । १४ वर्षीया सुन्तली तामाङको हत्यापछि भारतमा बस्दै आएका सोही ठाउँका २४ बर्से श्याम राउत पक्राउ परेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । सुन्तलीको हत्यापछि स्थानीय प्रहरीले श्यामलाई बोलाएर सोधपुछ गरे पनि घटनामा संलग्न नभएको निष्कर्ष निकाल्दै ‘हाजिरी जमानीुमा छाडेको थियो।

तर, पीडितका आफन्तले उनीविरुद्ध जाहेरी दर्ता गर्दा श्याम नेपालबाट भागिसकेका थिए । प्रहरीले सुरुमा श्यामविरुद्ध किटानी जाहेरी दर्ता गर्न मानेको थिएन । तर, बाहिरी दबाब बढेपछि घटना भएको करिब एक महिनापछि मात्र किटानी जाहेरी दर्ता भएको थियो । सुन्तलीको हत्या भएको १५ दिनपछि २०६८ साल माघ २० गते स्थानीय लिखु खोलामा झोलाको फित्ताले घाँटी बाँधेको अवस्थामा उनको शव फेला भएको थियो । उनको हत्या माघ ५ गते भएको थियो । हत्या भएको भोलिपल्ट सुन्तलीले बोकेको डोको फेला परेको थियो भने दोस्रो दिन उनले लगाएको चौबन्दी चोलो, चप्पल र भित्री वस्त्र भेटिएको थियो ।

‘श्यामले हत्या गरेको स्विकारिसकेका छन्, बलात्कार भएको थियो÷थिएन भन्ने मात्र खुल्न बाँकी छु, रामेछाप प्रहरी प्रमुख डीएसपी कुमुद ढुंगेलले भन्नुभयो । किटानी जाहेरीपछि भारतमै लुकेर बसेकाले श्यामप्रति प्रहरीको आशंका बढेको थियो । सुन्तली हराएलगत्तै श्याम काठमाडौं आए पनि पछि गाउँ फर्केर सुन्तलीलाई खोज्न लागिपरेका थिए । रामेछाप प्रहरीको सहकार्यमा महानगरीय अपराध महाशाखा, मध्यक्षेत्र प्रहरी श्यामलाई पक्राउ गर्न सफल भएको हो ।

नेपालबाट भागेलगत्तै भारतको चण्डीगढ र त्यसपछि श्रीलंकासँग सीमा जोडिएको भारतको अन्डमान निकोबार टापुमा बसेका श्याम त्यसपछि नयाँदिल्लीको नोएडास्थित एउटा होटलमा कुकको काम गर्थे । प्रहरीले अनुसन्धान फेरि अघि बढाएपछि रामेछाप प्रहरीले भारतीय प्रहरीबाट श्यामबारे जानकारी लिएको थियो। मध्यक्षेत्र प्रहरी प्रमुख डीआईजी गणेश केसीले लामो समयदेखि स्थगित मुद्दालाई पहिलो प्राथमिकतामा राखेर तीन महिनाअघि अनुसन्धान अगाडि बढाएको बताउनुभयो । ‘त्यतिबेला घटना निकै चर्चित भए पनि अपराधी पक्राउ पर्न सकेका थिएनन् । मैले आफ्नो क्षेत्रकै संवेदनशील मुद्दा ठानेर सक्रियता बढाएको हुँु, डीआईजी केसीले भन्नुभयो । प्रहरीले सुन्तलीकी आमा डिल्लीमाया तामाङलाई समेत ल्याएर सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्‍यो ।

प्रहरीसँगको प्रारम्भिक बयानमा श्यामले आवेगमा आएर सुन्तलीको हत्या गरेको बताएका छन् । ‘गाउँमा उन ९सुन्तली०ले मैले अर्को केटीलाई भुँडी बोकाएँ भनेर सबैतिर फैलाइछन् । त्यो सुनेर मैले सहनै सकिनँु, श्यामको भनाइ उद्धृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरीले भने । श्यामविरुद्ध किटानी जाहेरी दिएपछि डिल्लीमायाको परिवार नै गाउँबाट बसाइँ सर्नुपरेको थियो । श्यामका दाजु प्रदीप राउत र प्रहरीको दमनपछि आफूले गाउँ र सबै सम्पत्ति छाडेर सिन्धुली बसाइ सर्नुपरेको डिल्लीमायाले बताउनुभयो । मानवअधिकार आयोगको पहलमा डिल्लीमायाको परिवार पछि आफ्नै गाउँमा पुनःस्थापना भएको थियो । डिल्लीमायाका पाँच छोरी र दुई छोरामध्ये सुन्तली माइली छोरी थिइन् ।

‘डीएसपी सञ्जीव शर्मा दासमाथि कारबाही खोइ ?

सुन्तलीकी आमा डिल्लीमायाले तत्कालीन रामेछाप जिल्ला प्रहरी प्रमुख डीएसपी सञ्जीव शर्मा दासले अपराधीलाई संरक्षण दिएको र आफूलाई हदैसम्म दुःख दिएको भन्दै उनलाई कारबाही गर्नुपर्ने माग राख्नुभएको छ । ‘ डीएसपी दासले अपराधीसँगै मिलेर उल्टै हामीलाई अपराधीजस्तो अनुसन्धान गरे । प्रहरीले मलाई बोक्सी र अपराधीलाई ज्वाइँजस्तो व्यवहार गरे । डीएसपीले केटी पाए कसले बलात्कार गर्दैन भन्ने जवाफ दिन्थेु, पत्रकार सम्मेलनमा डिल्लीमायाले भन्नुभयो ।

डिल्लीमायाले श्यामका दाजु प्रदीपको मिलेमतोमा डीएसपी दासले अन्याय गरेको भन्दै कारबाहीको माग गर्नुभएको छ । प्रदीप स्थानीय माओवादी कार्यकर्ता हुन् । पत्रकार सम्मेलनमा डीआईजी केसीले डीएसपी शर्मालाई एकपटक विभागीय कारबाही भइसकेको बताउनुभयो । ‘फितलो अनुसन्धान गरेकाले उहाँलाई विभागीय कारबाहीस्वरूप त्यहाँबाट फिर्ता बोलाइएको थियो । अनुसन्धान फितलो हुनु नियतवश थियो कि नियतविना भएको हो भन्ने विषयमा अनुसन्धान गर्न सकिन्छु, डीआईजी केसीले भन्नुभयो ।

प्रतिकृया

Add