विनाप्रमाण आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै काँग्रेसद्धारा भत्सर्ना

 आइतवार, साउन ८, २०७४ | onlinenews

८ श्रावण २०७४ रामेछाप


          पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेको बरिष्ठ नेता माधवकुमार नेपाल चढेको गाडी तोडफोड गरेको झुठा अभियोग लगाएर प्रहरीले आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेपाली काँग्रेस रामेछापले भत्सर्ना गरेको छ ।
शनिबार साँझ ढुङ्गा प्रहार गरि एमाले नेता माधवकुमार नेपाल चढेको बा ५ च २७५० नम्बरको गाडीमा ढुङ्गा प्रहार गरि तोडफोड गरेको भन्दै काँग्रेस कार्यकर्ता सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले अनुसन्धानको लागि भन्दै पक्राउ गरेको थियो ।
आफ्ना कार्यकर्तालाई विनाप्रमाण प्रहरीले पक्राउ गरेको भन्दै नेपाली काँग्रेस रामेछाप नगर समिति र जिल्ला समिति रामेछापले छुट्टाछुट्टै विज्ञप्ति जारी गरि विरोध गरेको हो ।
सो घटनाको यर्थाथ छानविन गरि दोषिमाथि यथाश्रिघ कारबाहीको माग गर्दछौं विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री चढेको गाडीमा तोडफोड गरेको भनि नेकपा एमाले रामेछापले नेपाली काँग्रेसलाई झुठो आरोप लगाएर रामेछाप नगरपालिकाको केन्द्र रहेको ऐतिहासिक स्थल रामेछाप बजारलाई बद्नाम गर्न खोजेको नेपाली काँग्रेसको आरोप छ ।
गाडी तोडफोट गरेको आशंकामा प्रहरीले पक्राउ गरेको काँग्रेस कार्यकर्तालाई भने घटनामा उनीहरुको संलग्नता नदेखिएको भन्दै आइतबार अपरान्ह प्रहरीले छोडिदिएको छ ।
प्रहरीलाई गलत सूचना दिने ब्यक्ति सार्वजनिक गरि कारबाही गर्नुपर्ने नेपाली काँग्रेसको माग छ । काँग्रेसलाई कम्जोर बनाउन नेकपा एकालेका स्थानीय नेताहरुले योजनवद्ध रुपमा फसाएको काँग्रेसले आरोप लगायतको छ ।

प्रतिकृया

Add