बाढी पहिरोमा परि ३३ जनाको मृत्यु, कहाँ के भयो ?

 आइतवार, साउन २९, २०७४ | onlinenews

२९ साउन २०७४


बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माका अनुसार पाँचथारमा ४, सिन्धुलीमा ४, झापामा ४, मोरङमा ३, सुनसरीमा ७, सर्लाहीमा २, बारामा २,  दाङमा १ बाँकेमा ४, मकवानपुरमा १, र पाल्पामा १ गरी ३३ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ ।
बाढीले झापा, मोरङ सुनसरी, सिरहा र सप्तरीका धेरैजसो क्षेत्र जलमग्न भएका छन् । गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रका लागि विमानस्थलमा खाद्यान्न तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखे पनि मौसम प्रतिकूल भएकाले पठाउन नसकिएको बताएका छन् । मौसममा सुधार आउनासाथ राहत सामग्री प्रभावित क्षेत्रमा पुयाइने गृहमन्त्रीे शर्माको भनाई छ ।

बाढीमा परि कहाँ कस्काे मृत्यु भयो ?

बाढीले घर भत्किदा बाँकेको राप्ती सोनारी गाउँपालिका ४ लालापुरमा कमिलाल थारुका ३ जना छोरीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । बाढीबाट बच्न बालिकाहरु छतमा बसेको बेला घर नै भत्किएको थियो ।
प्रहरीका अनुसार कमिलालकी श्रीमती पनि बेपत्ता भएकी छन् । यसैगरी लालापुरकै मकैबारीमा एकजना पुरुषको शव पनि भेटिएको छ । राप्ती सोनारी ६ र ७ नम्बर वडा पुरै डुबानमा परेको छ ।
बाढीले नेपालगन्ज, कोहलपुर पनि डुबान परेको छ । कचनापुको टिकुलीपुर गाउँ डुबानमा परेको छ ।  बाँकेको नरैनापुर गाउँपालिका–५ तल्लो भगवानपुरमा उद्धारका लागि गएका प्रहरीहरु चढेको डुंगा बाढीले बगाएको छ । डुङगा पल्टिएपछि सबै प्रहरी पौडिँदै नजिकै रहेको पीपलको रुखमा पुगेर त्यसमा चढेर बच्न सफल भएका थिए ।
बाँकेमा राप्ती नदीमा पानीको सतहले खतराको संकेत पार गरेकाले लक्ष्मणपुर बाँध आसपासका होलिया, बेतहनी, गंगापुर, मटैया, फत्तेपुर, कचनापुर लगायतका गाविसका दर्जनौं गाउँहरु डुबानको जोखिममा परेका छन् ।

सुनसरी

बाढीले सुनसरीको इटहरीको गैरी गाउँका माला साह, उहाँकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी बस्ने ३ वर्षका रुपेस राइ र ८ बर्षकी रुपसनी राईको ज्यान गएको छ । यसैगरी घरमा पानी पसेपछि इटहरी आइतबारेका ईश्वर सुनुवार र तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० बर्षका व्यक्तीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
कोशी व्यारेजमा पानीको बहाब शनिबार बेलुका दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।  कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले सरकारले भारत सरकारसँग आग्रह गरेको छ । दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ ।
सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् ।  धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन । इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् ।

मोरङ

मोरङको बक्राहा नुनसरी खोला र लोहन्द्रा खोलाले बगाउँदा मिक्लाजुङ रातमाटेका गंगाराम खतिवडा र केराबारी कुसुमेका मिनबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ । मोरङको लेटाङ् नगरपालिका १ मालबाँसेमा पहिरोमा पुरिएर गोपीमाया तामाङको ज्यान गएको छ । पहिरोले दुई घर बगाएको छ ।
यस्तै मोरङको बुढीगंगा गाउँपालिकाको हात्तीमुडामा एक महिलाको शब भेटिएको छ । मोरङको बुढीगंगा गाउँपालिका, उर्लाबारी, मिक्लाजुङ र केरावारी गाउँपालिका, विराटनगर महानगरपालिका र पोखरीया, रतुवामाई नगरपालिका, गोविन्दपुर, धनपालथान गाउँपालिकाका विभिन्न ठाउँ डुबानमा परेको प्रहरीले जनाएको छ ।   विराटनगर विमानस्थल पानी जमेर पोखरी बनेपछि कुनै पनि उडान हुन सकेको छैन  । हरैचामा पक्की पुल नै खोलाले बगाएपछि आवतजावत बन्द भएको छ ।

दाङ

दाङको तुलसीपुर महानगरपालिकामा  बेतनी खोलाले बगाउँदा भगवती सुनार र नरबहादुर रावतको ज्यान गएको छ । बबई नदी र राप्ती नदीमा बढेको पानीले डुबान हुँदा ३ सय घर विस्थापित भएका छन् भने ७६ घर भत्किएका छन् ।
पाल्पा
पहिरोले मोटरसाइकल च्यापिंदा पाल्पाको तानसेन टक्सार टोलका गृहपति शाक्यको ज्यान गएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका ईपा पाखाटोलमा पनि पहिरोले पुरिदाँ मिठु दानीको ज्यान गएको प्रहरीले जनाएको छ ।  यस्तै बबई नदीमा बगाएको दाउरा झिक्न जाँदा बा¥ह बर्दिया नगरपालिका १० का राजेन्द्र थारु बेपत्ता भएका छन् ।

सर्लाही

वर्षाको पानीले घर भत्किएर किच्दा सर्लाहीको धनकौल गाउँपालिका–१ मानपुरका किशोरी रायको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै सोती खोलाले बगाएर बरहथवा नगरपालिका– १० सीतापुरमा १७ वर्षीय राकेशकुमार साहको पनि ज्यान गएको छ ।
सर्लाहीको मलंगवा सहित जिल्लका खैर्बा, सिसौट, छटौल, महिनाथपुर, मानपुर, सुदामा, बलरा, भाडसर, अचलगड लगायत दक्षिणी भेगमा दर्जनौ घर डुबानमा परेका छन् ।

सिन्धुली

सिन्धुलीको कमलामाई नगरपालिका गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयको पर्खाल लडेर घर भत्किँदा दुर्गा खड्का, उनका छोराहरु अनिस र मनिस तथा छोरी शोभाको ज्यान गएको सिन्धुली प्रशासनले जनाएको छ । दुर्गाका श्रीमान उदयबहादुरलाई भने प्रहरीले उद्दार गरेको छ ।
इलाम
बाढीले इलामको चुलाचुली गाउँपालिकामा ३ वटा घर बगाएको छ । यस्तै, सूर्योदय नगरपालिका २ बागवीरेमा लाक्पा शेर्पा र वडा नम्बर ३ का हरि ढकालको घर पनि बाढीले बगाएको छ । बाढीका कारण चुलाचुलीको चाँजो खोलको झोलुङ्गे पुल पनि बगाउने खतरा बढेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण इलाममा हिजो रातिदेखि विद्युत अवरुद्ध भएको छ ।

सप्तरी

सप्तरीमा २ हजारभन्दा बढी घर डुबानमा परेका छन् भने पाँच सय परिवार विस्थापित भएका छन् । सप्तरीको खाँडो, जिता, बिहुल, त्रियुगालगायत नदीमा आएको बाढी गाउँ पसेको हो । तिलाठी कोइलाडी गाउँपालिकाको कुशहा र बनरझुला, हनुमान नगर योगिनीमाई नगरपालिकाको मल्हनियाँ टोल, गोबरगाढा बस्तीलगायत ठाउँ डुबानमा परेका छन् ।
अबिरल वर्षाका कारण बबई नदीमा पानीको सतह बढेपछि बबई र भादा नदी किनारका बस्तीमा बाढीको खतरा बढेको छ । बबईमा बाढी खतराको संकेत नाघेर बढेको भए पनि पानीको सतह मापनस्थल चेपाङ्गमा अहिले बाढी घट्दो छ तर भादा नदीमा बाढी बढेको छ ।
भादा पुलदेखि पूर्वतर्फ सदरमुकाम गुलरीया नेपालगंज सडकमा बाढी आइसकेकाले सवारी साधन ओहोरदोहोर अबरुद्ध भएको छ । भादा नदी आसपासका केही स्थान जलमग्न भएको प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले बताए ।
बबई नदी, मान खोला, ओराही खोला लगायतका स्थानिय खोलामा आएको बाढीका कारण बर्दियामा २०६ घर डुबानमा परेका छन । १६ घर पूर्ण रुपमा क्षति भएको र १ हजार ३० परिवार प्रभावित भएका छन् ।

प्रतिकृया

Add