मन्थलीको सार्वजनिक शौचालय सञ्चालन

 आइतवार, कार्तिक १९, २०७४ | onlinenews

१९ कार्तिक २०७४ रामेछाप


रामेछापको सदरमुकाम मन्थलीमा निर्माण गरिएको सार्वजनिक शौचालाय आइतबारबाट प्रयोगमा ल्याइएको छ । शौचालय निर्माण भएको लामो समयपश्चात नगरपालिकाले शौचालय सर्वसाधारणको लागि खुल्ला गरेको हो ।
जिल्ला सदरमुकाम मन्थलीको देवकोटा चोक नजिकै रहेको सार्वजनिक शौचालय नेपाली सेनाको नन्दाबक्स गणको पहल तथा संयोजकत्वमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरि निर्माण गरिएको थियो । शौचालयमा नेपाली सेनाले ९० हजार नगद तथ निर्माण कार्यको सम्पूर्ण श्रमदान गरेको थियो ।
तत्कालिन जिल्ला विकास समितिको ४ लाख, मन्थली नगरपालिकाको ३ लाख ६ हजार, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापको २ लाख ५० हजार र विभिन्न सामाजिक संस्थाहरुबाट रकम संकलन गरि करिब साढे १३ लाखको लागतमा सो शौचायल निर्माण गरिएको थियो ।
शौचालयमा महिलाहरुको लागि २, पुरुषको लागि ३ र फरक क्षमता भएकाहरुको लागि १ गरि ६ वटा कोठाहरु रहेका छन् । नेपाली सेनाले गएको २०७३ सालको भदौ ११ गते शौचालय निर्माण सम्पन्न गरि मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
नगरपालिकाले केही समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म शौचालय सञ्चालनमा ल्याएको भए पनि व्यवस्थापनमा समस्या भएको भन्दै पुनः बन्द गरेको थियो ।
मन्थलीको ब्यस्त बजारमा निर्माण भएको एउटा मात्र सार्वजनिक शौचालय पनि बन्द हुँदा बजारमा आउने सर्वसाधारणहरु समस्या झेल्न बाध्य थिए । शौचालय सञ्चालनका लागि जिल्लाका सञ्चारमाध्यम र पछिल्लो समय मिडिया सञ्जाल रामेछापले सार्वजनिक रुपमै खबरदारी कार्यक्रम गरेपछि मन्थली नगरपालिका र स्थानीय प्रशासनलाई दबाब परेको थियो ।
फलस्वरुप नगरपालिकाले आइतबारबाट सर्वसाधारणको लागि शौचालय खुुल्ला गरेको हो । शौचालयको प्रयोग गरे वापत प्रयोगकर्ताले सीमित शूल्क तिर्नुपर्नेछ । यस्तै नगरपालिकाले सदरमुकाम आउजाउ गर्ने सर्वसाधारणको सहजताको लागि देवकोटा चोकमा पिउने पानीको धारा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिकृया

Add