महिला विश्वकप छनोट क्रिकेटमा नेपाल युएइसँग पराजित

 बिहिबार, मंसिर ७, २०७४ | onlinenews

काठमाडौं–आइसीसी महिला टि–२० विश्वकपका लागि एशियाली क्षेत्रको छनोट अन्तर्गत तेस्रो खेलमा नेपाली टोली युएईसँग ५ रनले पराजित भएको छ ।
यसअघिका दुई खेल वर्षाले प्रभावित भएपछि नेपालले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग एक एक अंक बाँडेको थियो ।
थाइल्याण्डको बैंककस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी मैदानमा युएइले दिएको ८० रनको सामान्य लक्ष्य नेपालले भेट्टाउन सकेन । नेपाल १९–२ ओभरमा ७४ रनमै समेटियो ।
दोस्रो ओभरको चौथो बलमा ओपनर सीता रानामगरलाई ब्यक्तिगत ७ रनमा गुमाएको नेपालले त्यसको दुई बल पछि इन्दू बर्मालाई पनि गुमायो । उनले खाता खोल्नै सकिनन् । त्यस्तै तेस्रो ओभरमा नेरी थापा पनि खाता नखोली पेविलियन फर्कँदा नेपालले ११ रनमा ३ विकेट गुमाएको थियो ।
यतिमा मात्र नेपालको विकेट पतन रोकिएन । छैटौं ओभरको अन्तिम बलमा अर्की ओपनर ज्योति पाण्डे व्यक्तिगत १२ रन बनाएर आउट हुँदा नेपालको २७ रन भएको थियो । पाचौं विकेटका रुपमा काजल श्रेष्ठ व्यक्तिगत ८ रन बनाउँदा रनआउटको शिकार भइन ।
१२औं ओभरमा नेपालले दुई विकेट गुमायो । पहिलो बलमा सीता रानामगर ५ र तेस्रो बलमा कप्तान रुविना क्षेत्री खाता नखोली आउट भइन । करुणा भण्डारीले पनि ६ रनमात्र बनाउन सकिन् ।
नेपालका लागि रितु कनौजियाले सर्बाधिक २२ रनको अविजित योगदान गरिन । नेपालले ११ अतिरिक्त रन पाएको थियो तर पनि जितका लागि पर्याप्त भएन । युएईका निशा अली र हुमारिया तस्निमले दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन बनायो । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइका लागि नताशा चेरियथले सर्बाधिक २३, इशा रोहित ओजाले २२ र निशा अलीले १७ रन बनाए । अन्यको प्रदर्शन सन्तोषजनक थिए ।
नेपालका लागि कप्तान क्षेत्रीले ३ विकेट लिँदा रितुले २ तथा नेरी थापाले १ विकेट लिए । हारसँगै नेपालको लिगको शिर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको छ । अब नेपालले शुक्रबार मलेसियासँग खेल्ने छ ।

प्रतिकृया

Add