दोलखाको मिर्गे घटनाका अभियुक्त प्रहरी हिरासतमा

 बुधबार, मंसिर २०, २०७४ | onlinenews

दोलखा– दोलखाको बैत्यस्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेका सुनकुमार तामाङलाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले पदमबहादुर तामाङलाई हिरासतमा लिएको छ ।
पीडितका भाई भिम तामाङले बैत्यस्वर गाउँपालिका– २ का पदमबहादुर र उनका छोरा बादी तामाङ लगायतको विरुद्ध ज्यानमार्ने उद्योगमा जाहेरी दर्ता गराएपछि प्रहरीले पदमबहादुरलाई पक्राउ गरि अनुसन्धान थालेको हो ।
आरोपी तामाङ वडा नम्बर ३ को पाईलेमा मासु पसल र होटल सञ्चालन गर्दै आएका थिए । उनलाई हिरासतमा राखि थप अनुसन्धान अघि बढाउन दोलखा जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ ।
साथीलाई भेटेर घर फर्किदै गर्दा सुनकुमार तामाङ माथि पूर्व योजना अनुसार ज्यान लिने नियत राखि पदमवहादुर र उनका छोराले खुकुरी प्रहार गरेको जाहेरीमा उल्लेख छ । तर, पदमबहादुरले भने मदिरा सेवन गरी आएका सुनकुमार र उनका साथीले आफ्नी श्रीमतिलाई दुव्र्यवहार गरेपछि प्रतिकार गर्दा घाइते भएको बताएका छन् ।
स्थानीयवासीका अनुसार पाइले गाउँमा साथीकोमा पुगेर आएका सुनकुमार र उनका साथी मासु खरिदका लागि पदमको पसलमा गएका बेला सामान्य विवाद भएपछि लेखेटेर खुकुरी प्रहार गरिएको थियो ।
पदमवहादुर र उनको श्रीमतिले भने जवरजस्ती करणीको प्रयासको अभियोगमा सुनकुमार र उनका साथी बिरुद्ध प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् । खुकुरी प्रहारबाट गम्भिर घाईते बनेका सुनकुमारको काठमाडौंस्थित बिर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको च्यापु, कुम, डाढ लगायतका स्थानमा खुकुरीको गहिरो चोट रहेको छ भने एउटा हात समेत भाँचिएको छ ।

प्रतिकृया

Add