सोनाम ल्होछार

 बिहिबार, माघ ४, २०७४ | onlinenews

ल्होसार अर्थात ल्हो भन्नाले नयाँ अनि सार भन्नाले बर्ष, आउनुहोस् आजको यो २८५१ सौ सोनाम ल्होसारको उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौ । तामाङ समुदायका बारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्यन गर्दा ता भन्नाले घोडा अनि मागं भन्नाले लडाकुहरु भन्ने बुझिन्छ, यसअर्थमा घोडचढीमा निपुण साहसीहरुको समुदाय तामाङहरु वास्तवमै आफ्नो साहस, वीरता अनि रण कौशलताका लागि नेपालमात्र नभई संसारभरि प्रचलीत छन् । ल्होछार शब्द ल्हो अर्थात वर्ष वा साल छार वा सार अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । हरेक बर्षको माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्दछ, यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होसार मनाउदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेका क्षेत्रमा पनि आजको दिनलाई उत्सवका साथसाथै नयाँ बर्षका रुपमा मनाउने गर्दछन् । तामाङहरुलाई प्रकृतीप्रेमी समुदायका रुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कुलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । विक्रम सम्बत् २०६४ साल यता सोनाम ल्होसारलाई राष्ट्रिय पर्वको स्वरुप नेपाल सरकारले सार्वजनिक विदा दिंदै आएको छ । सोनाम ल्होसार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होसार मनाउने समुदायमा ल्हो अर्थात वर्षहरु बाह्रवटा हुन्छन् । ती बर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जगंली बँदेलमा गएर सकिन्छ । बाह्र वर्गका बर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।
नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनीया पात्रो भन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको पनि प्रयोग गर्दछन् । उक्त पात्रोलाई चन्द्र पात्रो भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङ हरुका अलवा ल्होसार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् । गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होसार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ । सोनाम ल्होसार पर्व तामाङ जातीहरु पुगेका नेपाल सहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्याण्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । आजको दिन यी देशहरुका अधिकांश बौद्धविहारहरु रगिंन र उल्लासमय हुन्छन्, रंगीन सजावटका ध्वजा पताका अनि पुष्प द्धारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार वडो गज्जब देखिन्छ, मुख्यतया डाँडाकाडामा भएका नेपाली बौद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभूति हुन्छ ।
सोनाम ल्होसारका अवसरमा घर बस्तीहरु सफा गरी बुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर बुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरुमा तामाङ सेलो भनिन्छ, सुस्तरि तर बडो मधुर रुपमा गाइने यस्ता सेलोहरुमा डाँडापाखा, कन्दरा अनि दैनिक जिवन लगायत माया प्रेमका भावनाहरु पनि समावेश हुन्छ । डम्फु चाँही यस समुदायको हस्ताक्षर बाजा नै हो, डम्फू अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरै जसो यस्ता सामुदायिक कार्यक्रमहरु खुला आकाश मुनी गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समुदायका ब्यक्तिहरु लगायत अन्य सबै समुदाय अनि धर्मक ब्यक्तिहरुलाई यस समुदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।
नकारात्मक तत्वहरुलाई हटाउनका लागि अनि आशा जगाउने सकारात्मक तत्वहरु अनि शक्तिहरुलाई डाक्नका लागि आज विभिन्न तान्त्रिक विधि अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ ।
लामाहरुसँग आशिष लिएर आजको दिन वर्षभरिका लागि शुभ अनि साइतको अपेक्षा राखिन्छ, काठमाडाँंमा भने आजको दिन टुँडिखेलबाट ¥याली निकालिन्छ अनि तीन दिन लामो मिस तामाङ कार्यक्रमको शुरुवात पनि गरिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामनाहरु आदान प्रदान गर्दै तामाङ समुदायले सैयौँ वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सुँगुर, हाँस, कुखुरा, खसि लगायतका विभिन्न परिकारका मासुहरु तैयार गरिन्छ, विभिन्न गुलिया मिठाइहरु पनि बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामुदायिक रुपमा पनि समुदायका सबैजना एकैठाँउमा भेला भएर चाडवाड मनाउने अनि सरल सभ्य रुपमा मिलनसार प्रवृतिको सस्कार अनि सन्देश दिने तामाङ समुदायहरु वास्तबमै एउटा अनुकरणीय समुदाय हो । सोनाम ल्होसारको शुभकामना । असल कामनाहरु अनि आशाहरुले सबैलाई पछ्याओस्, चन्द्रमा दाहिने हुन् ।
सुयोग ढकाल (हाम्रो पात्रोबाट)

प्रतिकृया

Add