वैदेशिक रोजगारसम्न्बधी सचेतना फैलाउन रामेछापमा गन्धर्व गीति यात्रा

 बुधबार, फाल्गुन ९, २०७४ | onlinenews

राजिव कार्की


वैदेशिक रोजगारसम्बन्धी सचेतना फैलाउनका लागि रामेछापमा गन्धर्व गीति यात्राको थालनी गरिएको छ । गन्धर्व गीत र संगीतको माध्यमबाट गाउँ–गाउँमा पुगेर वैदेशिक रोजगार सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले मंगलबारबाट गीति यात्रा थालिएको हो । वैदेशिक रोजगारलाई सुरक्षित, उपलब्धिमूलक र भरपर्दो बनाउने उद्देश्यले गन्धर्वको सहारामा सुरु गरिएको सचेतनामूलक सांगीतिक यात्रा जिल्लाको सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिकाका वडाहरुमा सञ्चालन हुने सुरक्षित आप्रवासन परियोजना (सामी) ले जनाएको छ ।
बिनाजानकारी, बिनासीप र बिनातालिम विदेश पुगेर अलपत्र पर्नबाट युवाहरुलाई जोगाउने उद्देश्यका साथ थालिएको गन्धर्व गीति यात्रा फागुनको २७ गतेसम्म चल्नेछ । हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको सहयोगमा चारघरे सेवा समिति रामपुर, रामेछाप र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले जिल्लामा बैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आईरहेका छन् । चारघरे सेवा समितिद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले जिल्लामा केही वर्षयता गन्धर्व गिती यात्रा कार्यक्रम चलाउँदै आएको छ । लोकलयमा आधारित गन्धर्व गीतको माध्यमबाट सकेसम्म विदेश नजान, स्वदेशमै पसिना बगाउन, विदेश जाने भए सूचना, सीप र तालिम लिएर मात्र जान, विदेश जानअघि सम्पूर्ण कागजातको प्रतिलिपि घरमा छाड्न आग्रह गरिने सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको स्कुल तथा आमसञ्चार कार्यक्रम संयोजक सागर विक्रम बस्नेतले बताए ।
भोजपुरबाट आएका २ जना गन्धर्वले वैदेशिक रोजगारसँग सम्बन्धित सीप, वैदेशिक रोजगारका चुनौती, समस्या, समाधानका उपाय, सूचना केन्द्र, निशूल्कः कानुनी सहायता, मनोसामाजिक परामर्श लगायतका विषय समेटिएको गीत गाउँदै सर्वसाधारणलाई सचेत गराउने छन् । वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमूलक बनाउन यसअघिका वर्ष सञ्चालन गरिएको सांगीतिक यात्रा फलदायी भएकाले यस वर्ष पनि निरन्तरता दिइएको हो ।

प्रतिकृया

Add