दीगो विकासका लागि आर्थिक गणना

 बिहिबार, चैत्र १५, २०७४ | onlinenews

रामेछाप । दीगो आर्थिक विकासका लागि आगामी वैशाखदेखि रामेछाप जिल्लामा पनि आर्थिक गणना गरिने भएको छ । “दीगो आर्थिक विकासको आधारका लागि राष्ट्रिय आर्थिक गणना” भन्ने मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले आगामी वैशाख १ गतेदेखि रामेछापमा आर्थिक गणना गर्ने भएको हो ।
राष्ट्रिय आर्थिक गणना नेपालमा पहिलो पटक हुन लागेको हो । राष्ट्रिय आर्थिक गणना २०७५ को स्थलगत तथ्याङ्क संकलनको लागि जिल्ला सदरमुका मन्थलीमा कार्यालय समेत स्थापना भइसकेको छ ।
आर्थिक गणना एक बृहत तथ्याङ्कीय क्रियाकलाप भएकाले क्रियाशील सबै व्यवसायिक आर्थिक इकाई, बस्तु उत्पादन र सेवा प्रदान गर्ने प्रतिष्ठान, व्यवसायमा पुगी आर्थिक इकाइका विवरण सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं वितरण गरिने आर्थिक गणना कार्यालयले जनाएको छ ।
आर्थिक गणनामा समावेश हुने विषयहरुमा प्रतिष्ठान तथा व्यवसायको व्यवसायिक क्रियाकलाप सम्वन्धि वर्तमान अवस्था र यसका वित्तिय पक्ष सहित आधारभूत तथ्यांङ्क उपलव्ध गराउने बताइएको छ ।
जिल्लामा लिइएका विवरण केन्द्रिय तथ्याङ्क विभागमा गोप्य रहने भएकाले सूचना बाहिर नआउने कार्यालयले जनाएको छ । कार्यालयको अनुसार आर्थिक गणनाका लागि रामेछापमा २७ जना गणक परिचालन हुने छन् ।
आर्थिक गणनाका लागि १४ जना निजामती कर्मचारी र १३ जना करारमा भर्ना गरिने छ । गणकहरुलाई चैत्र मसान्तभित्र तालिम प्रदान गरि वैशाख १ गतेबाट २ महिनाको लागि परिचालन गरिने छ ।
आर्थिक गणनाको लागि सूचिकरण फाराम र मुख्य गणना फाराम गरी दुई किसिमका फारामहरु प्रयोग हुने छन् । त्यस्तै गणनामा कागजी गणक, ट्यावलेटमा गणक र ई गणना (अनलाइन गणना) आधारमा गरिने बताइएको छ ।
आर्थिक गणनाको प्रारम्भिक नतिजा २०७५ सालको भदौ महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य केन्द्रिय तथ्याङ्क विभागले लिएको जिल्ला आर्थिक गणना अधिकृत सुरेशकुमार खतिवडाले बताए ।

प्रतिकृया

Add