भूकम्प पीडितलाई दिने काठमा ठेकेदारको मनपरी, आर्थिक चलखेल भएको जनप्रतिनिधिको आरोप

 आइतवार, चैत्र १८, २०७४ | onlinenews

रामेछाप । रामेछाप जिल्लाका भूकम्प पीडितलाई ९० प्रतिशत राजस्व छुटमा सरकारले उपलब्ध गराउने भनिएको काठमा ढुवानीको जिम्मा पाएका ठेकेदारले मनपरी गर्दै आएका छन् ।
जिल्ला आपूर्ति समितिले घाटगद्दी (संकलन) को लागि जिल्ला समन्वय समितिको प्राङगणलाई तोके पनि ढुवानी ब्यवसायिले आपूm खुसी मन्थली नगरपालिकाको सुकाजोर खोलामा काठ झारेको इलाका बन कार्यालयले बताएको छ ।
ठेकेदारले आपूmखुसी सुकाजोर खोलामा झारेको काठ जिल्ला आपूर्ति समितिले नबुझेको जिल्ला आपूर्ति समितिका सदस्य सचिव समेत रहेका सहायक बन अधिकृत मणीराम यादवले बताए ।
भूकम्प पीडितलाई गोलाई काठ वितरण गर्नुपर्ने भनिए पनि अनुमति नै नलिई ढुवानी गर्ने ठेकेदार आफैले सुकाजोर खोलामा काठ चिरा मिल स्थापना गरि आपूmखुसी काम गर्दै आएका छन् । काठ ढुवानीको जिम्मेवारी दिए पनि चिरान मिल राख्ने अनुमति भने नदिइएको यादवले बताए ।
भूकम्प पीडितलाई गोलाई काठ दिने कार्ययोजना रहेको र काठ चिरेर दिने निर्णय नभएको पनि सहायक बन अधिकृत यादवले जानकारी दिए ।
ठेकेदारले आर्थिक चलखेल गरेर भूकम्प पीडितलाई दिने काठको नाउमा कानून विपरीत गलत क्रियाकलाप गरिरहेको मन्थली नगरपालिका–१ का वडा सदस्य रामहरी पौडेलले बताए ।
बनका केही कर्मचारीको मिलेमतोमा भूकम्प पीडितलाई काठ दिने नाउमा गलत क्रियाकलमा भइरहेको पौडेलको भनाई छ ।
काठ चिरान मिल स्थापना गरिएको स्थान भ्याकुरे पहिरे पाखा सामुदायिक बनसँगै जोडिएकाले त्यस ठाउँमा उद्योग सञ्चालन गर्न नमिल्ने सोही बनका अध्यक्ष अनन्त थापाले बताए । उद्योग सञ्चालको लागि सामुदायिक बनसँग अनुमति नलिएको र बन नीति अनुसार त्यस स्थानमा उद्योग सञ्चालको लागि अनुमति दिन पनि नमिल्ने बताए ।
जिल्ला आपूर्ति समितिले त्रिपुरा कम्पनीलाई भूकम्प पीडितको लागि काठ ढुवानी गर्ने जिम्मा दिएको थियो । रामेछाप जिल्लाको भूकम्प पीडितको लागि १० हजार क्यूफिट काठ उपलब्ध गराउँने बन विभागको निर्णयअनुसार ४ हजार ५ सय क्यूफिट मात्र रामेछापमा झरेको जिल्ला बन कार्यालय रामेछापका प्रमुख रामविचारी ठाकुरले बताए । समयमै ढुवानी नहुँदा ढुवानी गरिसक्नु पर्ने आवधि गुज्रिएकाले ५ हजार ५ सय क्यूफिट काठ ढुवानी हुन नसकेको र पुनःढुवानीको लागि म्याद थप गर्नुपर्ने ठाकुरले बताए ।

पत्रकारमाथि अभद्र व्यवहार

अवैध रुपमा काठ चिरान मिल उद्योग स्थापना गरेको स्थान सुकाजोर खोलामा रिपोर्टिङ्गका लागि पुग्दा मिल जडानको काममा कामदारलाई निर्देशन दिइरकेका एक ब्यक्तिले पत्रकारमाथि समेत अभद्र व्यवहार गरे ।
काठ ढुवानी गर्ने ठेकेदारका भाञ्जा रहेछन् उनी । त्यहाँका स्थानीयबाट थाहा हुनआयो उनी ठेकेदारका भाञ्जा हुन भनेर । मिलसँग सम्बन्धित पत्रकारको जिज्ञासामा उनको जवाफ थियो । मिलको बारेमा तिमीलाई के सरोकार । उनले पत्रकारलाई काठको फोटो नखिच्न धम्की समेत दिए । उनको परिचय माग्दा आफ्नो नाम बताउन चाहेनन् । यो चिरान मिल कस्ले ल्याएको भन्दा उनको जवाफ थियो–मिस्त्रीले ।

प्रतिकृया

Add