क्षतिपूर्ति माग गर्दै प्रहरीविरुद्ध अदालतमा मुद्दा दर्ता

 सोमवार, चैत्र २६, २०७४ | onlinenews

बाँके । प्रहरीले हिरासतमा शारिरीक तथा मानसिक यातना दिएको भन्दै बाँकेको भुजाइगाउँका एक युवकले अदालतमा मुद्दा दायर गरेका छन् ।
भुजाईगाउँका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रुपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँके र सोही कार्यालयका असाई राजेन्द्र पुजारालाई विपक्षी बनाइएको छ । फिरादपत्रमा यातना क्षतिपूर्ति मुद्दामा यातनाको कारणले पुग्न गएको क्षति र भविष्यमा पुग्न जाने क्षतिको समेत यथोचित मूल्यांकन र विचार गरी यातनासम्वन्धि क्षतिपूर्ति ऐन २०५३ को दफा ३(१) बमोजिम एक लाख रुपैयाँ अर्थात् हदैसम्मको क्षतिपूर्ति माग गरिएको छ ।
कुटपिट तथा यातनामा संलग्न प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली २०४९ बमोजिम हदैसम्मको कारवाहीको माग गरिएको छ । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को कानूनी सहयोगमा मुद्दा दर्ता गरिएको थर्ड एलायन्स नेपालगञ्ज प्रमुख आलम खानले बताए ।
मोबाईल चोरीको अभियोगमा पक्राउ परेका थापालाई हिरासतमा दिइएको यातनाका कारण हिप पुरै निलडाप परेको छ भने हिडडुल गर्न समेत समस्या भएको छ । यातनाका कारण, छाती, ढाड र खुट्टामा पनि चोट लागेको छ । मुद्दा दर्ता गराउन थर्ड एलायन्सका प्रमुख आलम खान र अधिवक्ता विश्वजीत तिवारी बाँके जिल्ला अदालत गएका थिए ।

प्रतिकृया

Add