सरकारको पहिलो प्राथमिकता शिक्षा हुनुपर्छः डा. महत

 शुक्रबार, असार ८, २०७५ | onlinenews

रामेछाप/ नेपाली कांग्रेसका नेता डा.रामशरण महतले सरकारको पहिलो प्राथमिकता शिक्षा हुनुपर्ने बताएका छन् । अहिलेको युग विचारले निर्देशित गर्ने र दिमागले सञ्चालन गर्ने युग भएकाले शिक्षा पहिलो प्राथामिकतामा हुनुपर्ने नेता महतले बताए ।
उद्यमशीलताले विकास र आविष्कार गर्ने बताउँदै अबको शिक्षा पनि उद्यमशीलतासँग जोडिनुपर्ने डा. महतले बताए । अहिलेसम्म राजनैतिक अस्थिरताले देशको विकास हुन नसकेको उल्लेख गर्दैै अब राजनीतिक अस्थिरताको अन्त्य भइसकेकाले देशको विकासले फड्को मार्ने पनि उनले बताए ।
अब देश विकासमा अवरुद्ध गर्ने बाहना कोहीकसैसँग पनि नभएको नेता महतको भनाई छ । कालिन्चोक फाउन्डेशन र नेपाल विद्यार्थी संघले शुक्रबार मन्थलीमा आयोजना गरेको सिसि क्यामेरा प्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता महतले भोलीका देशका कर्णधार बालबालिकाको शैक्षिक गुणस्तर राम्रो हुनुपर्ने भन्दै विकास र उन्नतिको युग हाक्न सक्ने दक्ष जनशक्ति उत्पादन अहिलेको आवश्यकता भएको बताए ।
नेता महतले मन्थली उच्च माध्यमिक विद्यालयलाई २० थान सिसी क्यामेरा प्रदान गर्नुका साथै एक हजार भन्दा बढि विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
विद्यालयलाई प्रदान गरिएको सिसि क्यामेरा तथा शैक्षिक सामाग्री नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईले सहयोग गरेका हुन् ।
शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले व्यक्तिगत रुपमा सिसि म्यामेरा र शैक्षिक सामाग्री सहयोग गरेको चौलागाईले बताए । सिसि म्यामेरा तथा शैक्षिक सामाग्री काँंग्रेस नेता महतले विद्यालय व्यबस्थापन समितिका अध्यक्ष जगदीश सुवेदीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिकृया

Add