आगामी आर्थिक वर्षको लागि मन्थली नगरपालिकाको बजेट ६३ करोड कृषि, खानेपनी, सडक र उर्जा प्राथमिकतामा

 शुक्रबार, असार २२, २०७५ | onlinenews

राजिव कार्की


रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि करिव ६३ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।
नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल ६२ करोड ९७ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट तेश्रो नगरसभामा प्रस्तुत गरेका हुन् ।
चालुतर्फ १२ करोड ९ लाख ४२ हजार, पूँजिगत तर्फ २१ करोड ९० लाख, र शसर्त अनुदानतर्फको २८ करोड ९८ लाख गरी उल्लेखित बजेट नगरकार्यपालिकाको बैठकले पारित गरेको नगरप्रमुख बस्नेतले बताए ।
नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बस्नेतले नगरको आर्थिक विकासतर्फ ७० लाख, सामाजिक विकासतर्फ ३० करोड, पूर्वाधार विकाशतर्फ १८ करोड, बन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६० लाख र संस्थागत विकाश तथा सेवा प्रवाहतर्फ २ करोड रकम विनियोजन गरिएकोे नगरसभामा जानकारी दिएका थिए ।
मन्थली नगरपालिकाले केन्द्र सरकारको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सार्थक तुल्याउन स्थानीय सरकार सञ्चालन ऐन २०७४, अन्तरसरकारी वित्त व्यवस्था ऐन २०७४, स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि,नेपाल सरकारको नीति कार्यक्रम तथा चालु बजेट, प्रदेश सरकारका नीति तथा कार्यक्रम, नेपाल सरकारको दिगो विकासको लक्ष्य आदिलाई आधार मानेर बजेट निर्माण गरेको हो ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य कृषि, सडक, विद्युत, खानेपानी, खेलकुद, गरिवि निवारण, संस्थागत क्षेमता अभिवृद्धि, लैगिंक समानता, दिगो विकास, विपत व्यवस्थापन, सुशासन,स्थानीय श्रोत साधन, वातावरण संरक्षण, गरिवि, पछौटेपन न्यूनिकरण लगायतका महत्वपूर्ण विषयहरुलाई बजेटको प्राथमिकतामा राखेको छ ।
नगरसभामा नगरप्रमुख बस्नेतले दिगो विकासको लक्ष्य हाँसिल गर्न नगरपालिका भित्रका श्रोत र साधनको परिचालनमा ध्यान केन्द्रित गर्न र नगरको आम्दानी वृद्धिका लागि कृषि, पर्यटन पशुपालन लगायतका क्षेत्रमा लगानी केन्द्रित गर्न सक्नुपर्ने बताउनुभयो । नगरसभामा प्रस्तुत निति कार्यक्रम तथा बजेट नगरसदस्यहरुको छलफलपछि पारित हुनेछ ।

प्रतिकृया

Add