सडक डिभिजन कार्यालयको वेवास्ता : मन्थलीको सडक बन्यो रोपाई गर्ने खेतजस्तो

 मङ्लबार, साउन ८, २०७५ | onlinenews

राजिव कार्की


रामेछाप– सडक विस्तारको क्रममा सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीले बाटो भत्काएर त्यत्तिकै छाडेपछि रामेछाप सदरमुकाम मन्थलीको सडक अस्तव्यस्त बनेको छ । मन्थलीको रणजोर खोला पुलदेखि बिपीचोकसम्मको सडक विस्तार गर्ने भन्दै सडक डिभिजन कार्यालयले असारको पहिलो हप्ता नै भत्काएको थियो तर विस्तारको क्रमलाई निरन्तरता नदिदा सडक अस्तव्यस्त बन्न पुगेको हो ।
सडक भत्काउँदा पुरानो नाली तथा गरिएको पिच समेत पुरिएको छ । नाली पुरिएको कारण पानी बीच सडकबाट नै बग्दा बाटो हिलाम्य भएको छ । पानी पर्दा हिलो र घामलाग्दा धुलोले बस्न र बाहिर निस्कन समेत कठिनाइ भएको स्थानियले बताएका छन् । सडकमा गाडी गुड्न तथा पैदलयात्रीहरुलाई यात्रा गर्न पनि निकै कठिन भएको छ ।
सडक विस्तार र नाली निर्माणको नाममा सडक डिभिजन कार्यालयले सडकसंगै सिंचाई कुलो समेत भत्काईदिदा खेत रोप्न नपाएको किसानहरुले गुनासो गरेका छन् । सडक खन्दा भत्किएको कुलो कार्यालयले समयमानै मर्मत नगरिदिदा मन्थलीको अधिकांस फाँटमा रोपाई हुन सकेको छैन् । सडक भत्काएर हिँडेका सडकका कर्मचारीहरु पुनः मन्थलीमा नफर्किएका कारण यस्तो समस्या सिर्जना भएको हो । रामेछापमा सडकको कार्यालय नहुँदा स्थानीयले गुनासो गर्ने ठाउँ समेत पाएका छैनन् ।

प्रतिकृया

Add