करिब ४ अर्ब रुपैयाँको हकप्रद जारी गर्न बोर्डले दियो स्वीकृति

 बुधबार, साउन ९, २०७५ | onlinenews

काठमाडौं – ५ कम्पनीहरुलाई हकप्रद सेयर निस्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बोर्डले विभिन्न समयमा २ वटा बीमा कम्पनी, २ वटा फाइनान्स कम्पनी र एउटा बैंकलाई हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

स्वीकृति पाएसँगै ५ कम्पनीहरुले ३ अर्ब ९० करोड ८५ हजार रुपैयाँ भन्दा बढीको हकप्रद सेयर निस्काशन गर्ने भएका छन् ।
५ कम्पनी मध्ये सबैभन्दा धेरै हकप्रद सेयर जारी गर्नका लागि नेपाल क्रेडिट एण्ड कमर्श बैंकले स्वीकृति पाएको छ । बोर्डले एनसीसी बैंकलाई गत असार २२ गते ५० प्रतिशत हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको थियो ।

जसअनुसार बैंकले २ः१ अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ ।

बैंकले बिक्री प्रबन्धकको काम सनराइज क्यापिटललाई नियुक्त गरिसकेको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी ७ अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

एनसीसी पछि सबैभन्दा धेरै हकप्रद सेयर जारी गर्न प्रोगेसिभ फाइनान्सलाई बोर्ड स्वीकृति दिएको छ । प्रोगेसिभले ५९ लाख कित्ता अर्थात ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।

फाइनान्सले सनराईज क्यापिटल लिमिटेडमार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ ।

यसैगरी आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ४३ लाख २० हजार कित्ता अर्थात ४३ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ ।

चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर दिने गुराँस लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको प्रस्ताब पारित भएको छ ।
राजधानीमा सम्पन्न कम्पनीको आठौं साधारणसभाले ५० प्रतिशत हकप्रद र ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताब पारित गरेको हो ।

यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले २ः१ अनुपातमा एक सय रुपैयाँ अंकित दरको २९ लाख ७० हजार कित्ता अर्थात २९ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद निस्काशन गर्न बोर्डबाट स्वीकृति पाएको छ ।

कम्पनीले हकप्रद सेयर जारी गर्न लक्ष्मी क्यापिटल मार्केटस लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

सिटिएक्सप्रेस फाइनान्सले पनि १ बराबर १।६७ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डबाट स्वीकृति पाएको छ ।

सिटीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर जारी गर्न काठमाडौं क्यापिटललाई विक्रि प्रवन्धकको रुपमा नियुक्त गरिसकेको छ ।

प्रतिकृया

Add