निर्माण सम्पन्न भएको ४ महिनामै विद्यालय भवन भासियो

 मङ्लबार, भदौ ५, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा रहेको नव दर्शन माध्यमिक विद्यालको भवन निर्माण सम्पन्न भएको ४ महिनामै भासिएको छ ।
२०७२ सालको विनासकारी भूकम्पले सो विद्यालयको भवनमा क्षति पु¥याएपछि पुनः निर्माण कार्यक्रम अन्तर्गत एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएको थियो ।
विद्यालय भवनको दुवै साइटमा जमिन चिरापर्नुका साथै डिल पटीको भागमा पेटीसहित बगेपछि भवननै जोखिममा परेको छ ।
भवन निर्माण गरिएको जमिन भासिएपछि पढाई सञ्चालन गर्र्न समेत जोखिम भएको सोही विद्यालयका सहायक प्रधानाध्यापक पूर्णचन्द पौडेलले बताए ।
सहायक प्रधानाध्यापक पौडेलले भने–अभिभावकले आएर यो भवनमा विद्यार्थी राख्न सकिन्छ सर ? भनेर प्रश्न गर्नुहुन्छ । अहिलेसम्म हामीले सकिन्छ भनेर शान्तोना दिइरहेका छौ । यो शान्तोना पनि कहिलेसम्म दिने दिंनदिनै भवन तलतल भासिंदै गएको छ उनले भने ।
निर्माण ब्यवसायिले विद्यालयको छेउपटीको साइटमा रिटेनी वाल नलगाइदिएकाले जमिन भासिएको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष मानबहादुर खड्काको आरोप छ ।
त्यस ठाउँमा भूकम्प जानु पहिले रहेको विद्यालयको भवन पनि चर्किने भत्किने गरेकाले तल्लोपटी साइटको काल्लामुनीबाट रिटेनी वाल लगाउनु पर्छ भनेका थियौं तर इन्जीनियरले बास्ता गरेनन् खड्काले भने । प्राविधिक त्रुटिकै कारण विद्यालयको भवन भासिएको उनको आरोप छ ।
विद्यालय भवन निर्माण भएको स्थानमा करिब ५० वर्ष पहिलेदेखि पहिरो बगिरहेको स्थानीय बताएका छन् ।
‘यो पहिरो गइरहने ठाउँ हो, यहाँको जमिन परीक्षण गरेर मात्र भवन निर्माण गर्नुपर्छ भनि स्थानीयले सल्लाह दिंदा प्राविधिकले जमिन बलियो छ परीक्षण गर्नु पर्दैन भनेपछि भवन निर्माण गरिएको स्थानीय बलबहादुर सार्कीले बताए ।’
प्राविधिले स्थानीयको सल्लाहलाई बेवास्ता गर्दा अहिले विद्यालय भवनको हालत यस्तो भयो सार्कीले भने ।
एसियाली विकास बैंकको ८ करोड आर्थिक सहयोगमा खानी निर्माण सेवाले २ वटा ४ कोठे र २ वटा ६ कोठे गरि २० कोठे ४ वटा भवन निर्माण गरेको थियो ।
लहरै निर्माण गरिएको ४ वटा भवनको दुवै साइटमा वारपार नै जमिन चिरा परेको छ । ठेकेदार कम्पनी खानी निर्माण सेवाले भवन निर्माणको काम पेटी ठेकेदारलाई दिएको र पेटी ठेकेदारले पनि कमिसन लिएर दोश्रो पेटी ठेकेदारलाई दिएकाले गुणस्तरीय भवन निर्माण हुन नसकको पनि स्थानीयको आरोप छ ।

प्रतिकृया

Add