पोखरामा दशैंमा मात्र २० करोडको फूल कारोबार

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

पोखरामा दशैंमा मात्र २० करोड बराबरको फूलको कारोबार भएको छ । घर सजावटसहित विभिन्न कार्यक्रममा प्रयोग गर्नका लागि फूल किन्नेहरुको संख्या बढ्दो छ ।
घर आँगन सफा गरेर चटक्क पारिन्छ, अनि फुल रोपेर सजाइन्छ । दशैं नजिकिएसँगै फुल रोपेर बगैंचा सिंगरिन्छ । जग्गा नहुनेले कौशीमै भएपनि फूल रोप्छन् ।
दशैंमा घररघरमा फुल लगेर सजाउनेहरुले अत्यधिक रुपमा फुल खरिद गरेको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीका अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।
उनका अनुसार होटल, रेष्टुरेण्ट, रिसोर्ट, वैंक तथा वित्तिय संस्था लगायतले पनि फूल खरिद गरेका छन् । कसैले फुलेका फूल लैजान्छन् त कसैले बिउ र बेर्ना ।
दशैंमा पोखरामा सबैभन्दा बढी तिहारे फूल अर्थात सयपत्री (मेरिगाल्ड) बिक्री भएको छ । हेर्दा पनि राम्रो र आकर्षक हुनुका साथै जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने भएकाले यो फूल बढी बिक्री भएको एशोसियसनका अध्यक्ष द्वाले बताए ।
गोदावरी, मखमली, लालुपाते लगायतका फुलहरु बिक्री भएका छन् । त्यस्तै, बाह्रमासे फूल, फिस्टेल प्लान्ट, बोटल प्लान्ट अन्य भन्दा धेरै बिक्री भएको व्यवसायीहरुले बताएका छन् ।
पोखरामा बिक्री भएका सबै फूल पोखरामै उत्पादन गरिएका हुन् । यसअघि बाहिरबाट ल्याउने गरिएको भए पनि यस वर्ष शतप्रतिशत पोखरामै उत्पादन भएको अध्यक्ष द्वाले दाबी गरे । यद्यपि फूलको बिउ र बेर्ना भने अझै पनि विदेशबाटै ल्याउनुपर्ने बाध्यता छ ।
पोखरामा यस वर्ष तिहारमा पनि फूलको अभाव नहुने व्यवसायीहरुको दाबी छ । पोखरा महानगरपालिका सहित विभिन्न संघसंस्थाले फूलको बिउ र बेर्ना वितरण गरेका छ ।
फूल खेतीको क्षेत्रफल पनि बढेकाले पोखराका लागि फूल पर्याप्त हुने अध्यक्ष द्वाले बताए । यस वर्ष मौषम पनि अनुकुल भएकाले उत्पादन पनि बढेको छ ।
फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीले कात्तिक तेश्रो साता पोखरामा गोदावरी मेला समेत आयोजना गर्दैछ । एशोसियसनले तिहारलाई लक्षित गरी आगामी कात्तिक १५ देखि १८ गतेसम्म गोदावरी मेला गर्न लागेको अध्यक्ष द्वाले जानकारी दिए । एशोसियसनमा ३६ जना पुष्प व्यवसायीहरु आबद्ध छन् । यसबाहेक किसानहरुले मौषमी फूल उत्पादन र व्यापार गर्दै आएका छन् ।

प्रतिकृया

Add