रियल मड्रिडद्धारा अमेरिकामा हुने बार्सिलोना संलग्न ला लिगाको खेलको विरोध

 बिहिबार, कार्तिक १, २०७५ | onlinenews

स्पेनी फुटबल क्लब रियल मड्रिडले अमेरिकामा हुन लागेको बार्सिलोना र जिरोनाबीचको स्पेनिस ला लिगाको खेलको विरोध गरेको छ ।
रियल मड्रिडले यही २६ तारिखमा अमेरिकाको मायामीमा हुन लागेको खेलको अनुमति दिएकोबारे स्पेनी फुटबल संघलाई प्रश्न सोधेको हो ।
ला लिगाको मौलिक नियम तथा स्वरुप अनुसार हरेक टिमले आफ्नो र विपक्षी टिमको मैदानमा खेल्ने परम्परा रहेकोमा अमेरिकामा खेल्ने अनुमति दिनु गलत भएको रियल मड्रिडको तर्क छ ।
स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुबियालेस र स्पेनी खेलाडी संघले पनि यो अनुमतिको विरुद्धमा बोलेका छन् ।
यो खेलका लागि स्पेनी फुटबल संघ बाहेक यूइएफए, अमेरिकी फुटबल संघ तथा उत्तर अमेरिका र क्यारेबियन क्षेत्रमा हुने फुटबलको नियामक संस्था कन्का काफको पनि अनुमति आवश्यक हुन्छ ।
यो खेल बार्सिलोनाबाट ६० माइल टाढा रहेको जिरोनाको घरेलु मैदानमा २६ तारिखका लागि तय गरिएको थियो ।
स्पेनको शीर्ष डिभिजन ला लिगाले रेलेभेण्ट नामको सञ्चार संस्थासँग गरेको सम्झौता अनुसार १५ वर्षसम्म प्रत्येक सिजन लालिगाको एउटा खेल अमेरिकामा खेलाउन सहमति जनाएको थियो ।
यो खेल यसै सम्झौताअनुसार तय भएको हुनुपर्दछ । रियलले पत्रमा लेखेको छ, ‘ला लिगाले यस्तो प्रकृयाका बारेमा हाम्रो के धारण छ भन्नेबारेमा रियललाई न सोधेको छ, न जानकारी गराएको छ न जानकारी गराउने मनशाय नै राखेको छ ।’
‘ला लिगाले हामी संलग्न भएको खेलमा असर पर्न सक्छ भन्ने जान्दा जान्दै पनि हामीसँग कुनै सहमति लिएको छैन’ पत्रमा अगाडि उल्लेख गरिएको छ ।
यसका बारेमा ला लिगाका अध्यक्ष जेभियर टेवासले भनेका छन्, ‘विभिन्न टिमले मैदान मर्मतका बेला वा धेरै आम्दानीका लागि अन्य रंगशालामा गएर खेल्दै आएका छन् । ’
‘यदि हामी खेलकुदमा नैतिकता र थिति चाहन्छौं भने फुटबलको क्षेत्रमा धेरै कुरा परिवर्तन गर्न जरुरी छ’ उनले भनेका छन् ।

प्रतिकृया

Add