पञ्चासेमा बन्ने केबलकारमा स्थानीयले तीन अर्बको सेयर पाउने

 शनिबार, कार्तिक २४, २०७५ | onlinenews

पर्वत–पर्वत, कास्की र स्याङ्जाको संगमस्थलको रुपमा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ ।
पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन लिमिटेडले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो ।
गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्यको रूपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुन लागेको केबुलकारमा स्थानीयवासीले तीन अर्ब रुपैयाँ सेयर अधिकार पाउने भएका छन् । घाँटीछिनाबाट पञ्चासेसम्मको केबुलकारको दूरी झण्डै ८.५ किलोमिटर हुने भएको छ ।
यसको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएकोमा ३० प्रतिशत स्थानीयवासीले शेयर हाल्न पाउने भएका छन् । प्रभावित क्षेत्र पर्वतको मोदी गाउँपलिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले सेयर अधिकार पाउने भएका हन् ।
अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् । त्यस्तैगरी पर्वततर्फबाट चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ ।

प्रतिकृया

Add