रामेछापमा २४ वर्ष यताकै ठूलो वर्षा कृषक उत्साहित

 बुधबार, चैत्र २, २०७३ | onlinenews

रामेछाप । रामेछापमा करिव २४ वर्ष पछि जमिन लतक्कै भिज्ने गरि पानी परेपछि कृषकहरुमा उत्साह छाएको छ । जमिन भिज्ने गरि पानी परेपछि कृषकसँगै अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको छ ।
बुढापाकाहरुका अनुसार यति ठूलो हिउँदे वर्षा २४ वर्ष अघि मात्र भएको थियो । लामो समयको अन्तरालपछि पूरा जमिन भिज्नेगरी परेको वर्षाले सुक्न लागेका खानेपानीका मुहानहरु पनि रसाएका छन् ।
खेतबारीमा भएका बालिनाली समेत सिंचीत हुने गरि पानी परेपछि कृषकलाई ठूलो राहत मिलेको रामेछाप नगरपालिका–८ डुम्रिखर्कका ज्येष्ठ नागरिक चुडाध्वज बस्नेतले बताए । जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको यस जिल्लामा बर्खाको समयमा समेत पानी कम पर्ने गरेको थियो ।
तर, यस पटक भने साउने झरीझैं २ दिनसम्म परेको हिउँदे वर्षाले जिल्लाका सबैलाई राहत मिलेको छ । वर्षामा आएको कमिसँगै वर्षाैदेखि खानेपानीका मुहान समेत सुकिसकेको अवस्थामा यो वर्षाले कृषकहरुको मनलाई केही आशावादी बनाएको बस्नेतले बताए ।
जलवायु परिवर्तनको प्रभावसँगै एक पछि अर्को गरि पानीको मुहान सुक्न थालेपछि जिल्लाका दर्जनौ बस्ती खानेपानीको संकटमा परेको छ । जिल्लाको साविकका १८ वटा गाविसहरुलाई सुख्खा क्षेत्र नै घोषणा गरिएको छ । लामो समयपछि जमिन भिज्ने गरी पानी परेकाले फेरि पानी पर्नेमा सर्वसाधारणको आशा छ ।
वर्षापछि जिल्लामा लामो समयदेखिको वातावरणीय प्रदुषणमा पनि कमी आएको छ । खडेरीकै कारण विशेषगरी बजार क्षेत्र र ग्रामिण क्षेत्रका धुले सडकहरुमा सवारी साधन गुड्दा बढेको प्रदुषणमा समेत कमी आएको छ । यो वर्षा सबैको लागि सुखद भएकोे मन्थली नगरपालिका–१ का ज्येष्ठ नागरिक चन्द्रमान श्रेष्ठले बताए ।

प्रतिकृया

Add