मन्थली बसपार्कमा सवारी काउन्टर खाली

 बिहिबार, चैत्र ३, २०७३ | onlinenews

चैत्र ३, रामेछाप ।  रामेछाप जिल्लाबाट सवारी छुट्ने टिकट बुकिङ काउन्टर संचालनलाई व्यवस्थित गर्ने भन्दै मन्थली नगरपालिकाले बसपार्कमा एकिकृत काउन्टर निर्माण गरेको महिनौ वितिसक्दा पनि काउन्टर संचालनमा आएको छैन ।
जिल्लामा साना ठूला सवारी साधन गरी १० वटा व्यवसायीहरुले यातायात सुविधा प्रदान गर्दै आइरहेका छन् । यस अघि व्यवसायीले मन्थली बजारबाट काउन्टर संचालन गरी यात्रुहरुलाई सुविधा दिइरहेका थिए । सडक पेटीमै काउन्टर संचालन भएको र काउन्टर अगाडी सवारी साधन रोक्दा बजार नै अव्यवस्थित भएकोले व्यवस्थित गर्न भन्दै काउन्टरको लागि मन्थली नगरपालिकाले बसपार्कमा १० कोठे ट्रस्ट निर्माण गरिसकेको छ ।
ट्रस्ट निर्माण पश्चात तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको अध्यक्षतामा यातायात व्यवसायीहरु सहित सरोकारवालहरुसँग फागुन १ गते बसेको बैठकले सोहि दिनबाट नै काउन्टर सार्ने र चैत्र १ गतेबाट पूर्ण रुपमा सारिसक्ने निर्णय भएको थियो । वैठकले काउन्टर क्लर्कलाई यात्रुप्रति मर्यादित बनाउन आचार संहिता, ड्रेसकोड र परिचय पत्र लागू गर्न प्रहरी निरीक्षक प्रेम जोसीको संयोजकत्वमा यातायात व्यवसायीको प्रतिनिधि सहित ९ सदस्यीय समिति समेत गठन गरेको थियो । नगरपालिकाको अनुसार बुधबार सम्म ७ वटा यायायात व्यवसायीले काउन्टर संचालन गर्न ट्रस्ट भाडाको लागि सम्झौता समेत गरिसकेका छन् । तर, चैत्र १ गते सम्म पूर्ण रुपमा सरिसक्ने भने पनि बसपार्कको एकिकृत काउन्टर भने महिनौ देखि खाली रहेको छ । यता ट्राफिक कार्यालयले भने २ वटा काउन्टर बुधवार नै सरिसकेको दावी गरेको छ ।
यातायात व्यवसायी सहितको वैठकको निर्णयलाई कार्यान्वयन गराउन ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाका प्रतिनिधिहरुको टोलीले बुधबार प्रत्येक काउन्टरलाई सम्झाइसकेको ट्राफिक कार्यालयले जनाएको छ । यातायात व्यवसायीले भने बजारका यात्रुहरु बसपार्कमा टिकट काट्न जान टाढा भएको भन्दै बजारमा पनि सटरभित्र काउन्टर संचालन गर्न दिनुपर्ने माग राख्दै आएका छन् । मन्थली मुख्य बजार र बसपार्क सम्मको दुरी करिव ९ सय मिटर टाढा छ ।

प्रतिकृया

Add