आर्थिक समृद्धिको लागि स्थानीयको जाँगर चाहिन्छः बस्नेत

 शुक्रबार, मंसिर १३, २०७६ | onlinenews
Share this

१३ मंसिर, रामेछाप– मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले स्थानीयको आयआर्जन बृद्धि गर्नको लागि जाँगर चाहिने बताए । यदि स्थानीले जाँगर लगाउनु भएन भने आयआर्जको कार्यक्रम गर्नुको कुनै अर्थ छैन, स्थानीयको आय स्तर बढाउने र आर्थिक समृद्धि बनाउने हो भने स्थानीयले जाँगर लगाउनु पर्छ नगर प्रमुख बस्नेतले भने ।
सीमान्तकृत समूहको लागि विपद्पछिको एकीकृत पुनःस्थापना सहयोग कार्यक्रम अन्तर्गत मन्थली नगरपालिकामा सञ्चालीत कार्यक्रमको सार्वजनिक परीक्षण तथा परियोजना समीक्षा कार्यक्रमलाई संवोधन गर्दै नगर प्रमुख बस्नेतले यस्तो बताएका हुन् ।
स्थानीयले जाँगर लगाएर परिणाम देखिने काम गरेमा स्थानीयको आयस्तर बढाउन नगरपालिका लगानी गर्न तयार रहेको पनि नगर प्रमुख बस्नेतले बताए ।
२०७२ सालको भूकम्पपछि पुनर्निर्माण र आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले परियोजना सञ्चालन गरिएको थियो । परियोजनाले आवास पुनर्निर्माणमा प्राविधिक सहयोग, निर्माण सामग्री ढुवानीका लागि अनुदान, लिफ्ट सिंचाई तथा खानेपानी, कृषि अन्तर्गत तरकारी खेत लगायतमा विपन्न समुदायलाई सहयो गर्दै आएको छ ।


विपन्न समुदायको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले परियोजना अन्तर्गत जिल्लाको ६ स्थानमा रहेको विपन्न माझी समुदायलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले जानकारी दिए ।
परियोजना अन्तर्गत मन्थली नगरपालिका–८ गाईखुरामा आवास पुनर्निर्माण, लिफ्ट सिंचाई, खानेपानी, समुदाय परिचालन सहित २६ लाख ९३ हजार ६ सय रुपैयाँ खर्च गरेको छ ।
गाईखुरा लिफ्ट सिंचाई आयोजनाबाट १ सय ३२ रोपनी क्षेत्रफल जमिन सिंचाईको सुविधा पुग्दा ६६ घर परिवार लाभान्वित भएका छन् । सो आयोजना अन्तर्गत ७ सय ५० मिटर पक्की कुलो निर्माण गरिएको छ । योजनाबाट प्रभावित ७ जना कृषकले अर्थ ब्यवसायिक तरकारी खेती गरिरहेको सो परियोजनाका कार्यक्रम संयोजक सुकराम घिसिङले जाननकारी दिए ।
त्यसैगरी मन्थली नगरपालिका–८ जखनिटारमा आवास पुनर्निर्माण, सिचाई, कृषि तथा पोषण र समुदाय परिचालन गरि ४४ लाख ६६ हजार ८ सय ५७ रुपैयाँ बजेट खर्च भएको छ । परियोजना अन्तर्गत जखनीटार लिफ्ट खानेपानी सिंचाई आयोजनाबाट १ स २४ रोपनी क्षेत्रफल जमिन सिंचाईको सुविधा पुगेको छ भने १ सय ४ परिवार कृषक लाभान्वित भएका छन् । त्यसैगरी ४० जना कृषकहरुले ब्यवसायिक तरकारी खेती सुरु गरेका छन् ।
त्यस्तै मन्थली नगरपालिका–६ सेलेघाटमा सिंचाई, कृषि तथा पोषण, आवास पुनर्निर्माण समुदाय परिचालन गरि २६ लाख १ हजार ५ सय २ रुपैयाँ खर्च गरेको छ । परियोजना अन्तर्गत सेलेघटा लिफ्ट सिंचाई आयोजनाबाट १ सय ५० रोपनी क्षेत्रफल जमिन सिंचाईको सुविधा पुगेको छ भने ६८ घर परिवार सिंचाई सुविधाबाट लाभान्वित भएका छन् । त्यसैगरी २० जना कृषहरुले अर्धब्यवसायिक तरकारी खेती सुरु गरेका छन् ।
परियोजनाको सहयोग पाएपछि विगतका दिनहरुमा तरकारी किनेर खाने कृषकहरु अहिले आफै तरकारी बेच्चे सम्मका भएका छन् । कार्यक्रमको अवसरमा तरकारी कृषक समूह र तरकारी संकलन केन्द्रलाई कृषि किट पनि प्रदान गरिएको छ । २०७३ चैत्र २ गतेबाट सुरु भएको परियोजना यही मंसिर २९ गतेबाट सकिदै छ ।

Share this

प्रतिकृया

Add