हाम्रो विरोध मन्त्रीलाई होइन, पार्टी सभापतिको कार्यशैलीको हो : खड्का

 सोमवार, भदौ २४, २०८१ | onlinenews
Share this

 

रामेछाप– नेपाली काङ्ग्रेस रामेछापका सचिव दीपक खड्काले आफूहरुले मन्त्री पदलाई कालो झन्डा देखाएको नभई रामेछाप जिल्लाका पार्टी सभापतिको कार्यशैलीको विरुद्धमा कालो झण्डा देखाएको बताएका छन् ।
पार्टी सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ पार्टीको विधि विधान विपरीत पार्टी मेरो मर्जीमा चल्नुपर्छ, अन्य पदाधिकारी र कार्यसमितिका सदस्यहरु केही होइनन् भन्ने ढङ्गबाट अघि बढेकाले आफूहरुले बिरोध गरेको सचिव खड्काको भनाइ छ ।

उनले भने ‘हाम्रो बिरोध मन्त्री पदलाई होइन, पार्टी सभापतिको तानासाही प्रवृत्तीको विरुद्धमा हो । कुनै पनि कार्यक्रम गर्दा सचिवालयले निर्णय गर्नुपर्छ तर पार्टी सभापतिले अन्य पदाधिकारीहरु र सचिवालयको अधिकारमा समेत हस्तक्षेप गरी पार्टीलाई व्यक्तिगत कम्पनीजस्तो बनाएकाले आफूहरु कालो झण्डा देखाउनेसम्मको बिरोधमा उत्रिन बाध्य भएका हौ ।’

उहाँलाई मन लागेको बेलामा काम गर न त भनेस्तो गर्ने तर उहाँलाई मन नलागेको बेला पदाधिकारीहरुलाई समेत नीच शब्द प्रयोग गरी गालीगलौच गर्ने र पदाधिकारीहरुसँग सरसल्लाह नै नगरी एकलौटी रुपमा तानाशाही ढङ्गबाट अघि बढेको सचिव खड्काको आरोप छ ।

पार्टी सभापतिले पार्टीको विधानअनुसार चल्छु र अन्य पदाधिकारी र सचिवालयको अधिकारमा हस्तक्षेप गर्दिन भनेर माफी नमागेसम्म आफूहरुको बिरोध जारी रहने पनि सचिव खड्काले बताए । पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले तानासाही कार्यशैलीलाई सच्याएर माफी नमागेमा आगामी दिनमा रामेछाप जिल्ला प्रवेशमै रोक लगाउने पनि सचिव खड्काले बताए । उनले भने– यो त हामीले नापेका मात्रै हौँ, कटिङ गर्न बाँकी नै छ । जिल्ला कार्यसमितिको ८ जना पदाधिकारीहरु मध्ये सभापतिका पक्षमा २ जनामा मात्र रहेको र अन्य सबै पदाधिकारी बिरोधको पक्षमा रहेको पनि सचिव खड्काले दाबी गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री समेत रहेका नेपाली काङ्ग्रेस रामेछापमा सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) नेपाली काङ्ग्रेस रामेछापका सचिव दीपक खड्का नेतृत्वको एक समूहले कालो झन्डा देखाएको थियो ।
पार्टी सभापति तामाङको कार्यशैलीप्रति असन्तुष्ट नेता कार्यकर्ताहरुले मन्त्री तामाङलाई कालो झन्डा देखाई पार्टीको निर्धारित कार्यक्रममा समेत अवरोध पुर्याएका थिए । १११ औँ वि.पी. जयन्तीका अवसरमा रामेछाप काङग्रेसले रामेछापको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत विभिन्न अस्पतालहरुमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई फलफूल बितरण गर्ने कार्यक्रममा सहभागि भएका पार्टी सभापति तामाङलाई कालो झण्डा देखाएका थिए ।

सोमवार बिहान सदरमुकाम मन्थलीस्थित वि.पी.को शालिकमा माल्यार्पण गरी तामाकोसी अस्पताल र दिलश्री मेडिकल हलमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर रामेछाप सामुदायिक अस्पताल जाने क्रममा राज्यमन्त्री तामाङलाई उनकै कार्यसमितिका सचिव दीपक खड्का नेतृत्वको टोलीले कालो झन्डा देखाएका थिए । कालो झन्डा देखाएसँगै तनावपूर्ण अवस्था सिर्जना भएपछि राज्यमन्त्री तामाङ रामेछाप सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण नगरी मन्थली अस्पताल गएका थिए । काङ्ग्रेसका एक समूहले पार्टी सभापतिलाई कालो झन्डा देखाउँदै छन् भन्ने आइतवार नै सङ्केत पाएका प्रहरीले सोमवार बिहानैदेखि मन्थली बजारमा ठुलो सङ्ख्यामा सुरक्षार्की तैनाथ गरेको थियो । कडा सुरक्षा घेराबिच सभापति तामाङलाई कालो झन्डा देखाइएको थियो ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *