रामेछापमा कागती खेती गर्ने बढे

 सोमवार, भदौ २४, २०८१ | onlinenews
Share this

 

रामेछाप- बजारमा कागतीको मागसँगै मूल्य पनि राम्रो आउन थालेपछि रामेछापमा कागती खेती गर्ने किसान बढेका छन् ।
परम्परागत खेती गर्दै आएका रामेछापका किसानहरु पछिल्लो समय जलवायु परिर्वतनसँगै समयमा बालिनाली लगाउन नपाउने र लगाएको बालीहरु समेत विभिन्न रोगको सङ्क्रमण भएर उत्पादन कम भएसँगै त्यसको विकल्पको खेती गर्न थालेका छन् । पछिल्लो समय कागतीको माग गाउँघर र बजारमा समेत बृद्धि भएसँगै किसानहरु कागती खेतीतर्फ लागेको हुन् ।

कागती खेती गर्दा जङ्गली जनावरहरुले दुःख पनि नदिने र पानी पनि कम भएपनि हुने साथै उत्पादन भएको वस्तु सबै बिक्री वितरण हुने भएकाले किसानहरु कागती खेतीतर्फ लागेका हुन् । केही किसानहरुले त बर्षैभरी फल्ने बाह्रमासे कागती लगाएका छन् भने केही किसानहरुले सुन कागती बारीभरी नै लगाएको मन्थली नगरपालिका–४ का किसान जयजहादुर खत्रीले जानकारी दिए ।

रामेछापमा केही वर्षअघिसम्म गाउँमा उत्पादन भएको कागती बिक्री नभएर हैरानी खेप्दै आएका किसानहरुको समस्या टरेको छ । अहिले किसानहरुले उत्पादन गरेको कागती गाउँमै राम्रो मूल्यमा बिक्री हुन थालेपछि किसानहरु यसखेती तर्फ थप आकर्षित भएका हुन् । गाउँमा उत्पादन भएको कागती बिक्री नहुँदा किसानहरुले कागतीको रस निचारेर चुक अमिलो पारेर राख्ने गरेका थिए ।

पहिलाको समस्या अहिले हटेको छ । कागती फल्नासाथ किसानहरुको घरमै पुगेर व्यवसायीहरुले खरिद गर्न थालेका छन् । कागती प्रति गोटा ७ देखी १० रुपैयासम्म गाउँघरमै विक्री हुन थालेपछि किसानहरु यस खेतीलाई थप व्यवसायिक रुपमा शुरु गरेको रामेछाप नगरपालिका वडा नं. ७ का किसान रविन्द्र हायुले बताए ।

बजारमा माग अनुसारको कागती जिल्लामा उत्पादन नहुँदा व्यवसायीहरुले तराई र वाह्य जिल्लाबाट आयात गर्नुपर्ने वाध्यता थियो । आयातित कागती जिल्लामा उत्पादन भएको भन्दा दाना सानो हुने र रस समेत कम हुने तर पैसा धेरै पर्ने गर्दथ्यो । तर अहिले किसानहरुले कागती उत्पादन गर्न थालेपछि दाना पनि ठूलो हुने बढी रस हुने हुँदा व्यवसायीहरुले किसानको खेतवारीमै पुगेर खरिद गर्ने गरेका छन् ।

परम्परागत रुपमा घरवरपर १÷२ बोट कागती रोपेर आफ्नो परिवारलाई मात्रै पुग्ने गरी लगाउँदै आएका किसानहरु अहिले कागती बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि व्यवसायिक रुपमा खेती गर्न थालेको मन्थली नगरपालिका वडा नं–१३ का किसान ओमकार अधिकारीले बताए ।

उनले भने–व्यवसायीहरुको माग अनुसारको कागती हामीले उत्पादन गर्न सकेका छैनौँ । कागतीको माग धेरै छ । कागतीका विरुवा थप गरेर यस खेतीलाई अझै विस्तार गरी उत्पादन समेत वढाउने योजनामा लागि परेको पनि कृषक अधिकारीले बताए ।

बजारमा माग अनुसारको कागतीको दाना किसानहरुले उत्पादन गर्न नसक्दा व्यवसायीहरुले विभिन्न वाह्य जिल्लाबाट आयात गर्ने गरेका छन् । किसानहरुले व्यवसायीले खोजेजति कागती जिल्लामा नै उत्पादन गर्न सके बजारको समस्या नरहेको कृषि कार्यालय रामेछापले जनाएको छ ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *