रामेछापमा राष्ट्रिय परिचय–पत्र विवरण संकलन सुरु, के हो राष्ट्रिय परिचय–पत्र ?

 बिहिबार, साउन १, २०७७ | onlinenews
Share this

१ साउन, रामेछाप– राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम बिहीबारबाट सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक औपचारिक कार्यक्रमको आयोजना गरि राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सुरु गरेको हो ।
राष्ट्रिय परिचय–पत्र बहुउपयोगी प्रमाण–पत्र भएकाले परिचयपत्र विवरण संकलनमा सहभागि भएर सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जिल्लाबासीलाई आग्रह गरिन ।
राष्ट्रिय परिचयपत्र भएपछि अन्य सरकारी परिचयपत्रहरु साथमा राख्नुपर्ने झन्झट नहुने प्रजिअ शर्माले बताइन । राष्ट्रिय परिचयपत्रको विवरण भर्नको लागि व्यक्ति स्वयंम आफ्नो सक्कलै नागरिकता र संम्भव भएसम्म बुवा आमाको पनि सक्कलै नागरिकता लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । परिचय पत्र वितरण भने फागुनदेखि हुने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र भनेको के हो ?

राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको उद्देश्य के हो ?

नेपाली नागरिकको वैयिक्तक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने ।
व्यक्तिगत घटना जस्तै जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्ने ।
सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धी काम गर्ने
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरि नागरिकका सूचना था विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा आवद्व गर्ने ।

राष्ट्रिय परिचयपत्रमा के के विवरण समावेश हुन्छ ?

व्यक्तिगत विवरणहरू (नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम
औंला–छाप (१० वटा औंला)
आखाँको नानि (Iris) प्रस्ताविते
परिचय नम्बर
फोटो
राष्ट्रियता
हस्ताक्षर
चिप्स

राष्ट्रिय परिचयपत्र प्रणालीको उद्देश्य के हो ?

नेपाली नागरिकहरूको वैयक्तिक र जैविक विवरणहरूको केन्द्रीकृत रूपमा भण्डारण तथा अभिलेख गरी सबै नागरिकहरूलाई परिचय खुल्ने र नदोहरिने गरी बहुउपयोगी राष्ट्रिय परिचय नम्बर (Unique Digital Identification) प्रदान गर्ने ।
नेपाली नागरिकहरूलाई राष्ट्रिय पहिचान सहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने ।
राष्ट्रिय परिचयपत्र प्रदान गर्न आवश्यक पर्ने पूर्वाधारहरू, नीति तथा कानूनहरूको तर्जुमा गर्ने ।
नेपाल सरकारबाट नेपाली नागरिकहरूलाई प्रदान गर्ने सेवा सुविधाहरूलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्व गर्नुका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखहरूलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्ने ।

राष्ट्रिय परिचयपत्र पाउनका लागि कस्तो योग्यता चाहिन्छ र प्राप्त गर्न के गर्नुपर्छ ?

१६ वर्ष उमेर पुरा भएको
नेपाली नागरिकताको प्रमाण–पत्र लिएको ।
परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको निकाय वा अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्छ । निवेदन दिँदा परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले वा विभागले तोकेको निकाय वा अधिकारीलाई डिजिटल तस्विर, दुवै हातका १० औलाको रेखा सहितको डिजिटल ल्याप्चे छाप, हस्ताक्षर लगायतका व्यैक्तिक तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ ।

राष्ट्रिय परिचयपत्रबाट नेपाली नागरिकलाई के फाइदा हुन्छ ?

ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा ।
मतदाता परिचयपत्रको रूपमा ।
सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा ।
सामाजिक सुरक्षा कार्डका रूपमा ।
सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा ।
अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ ।

Share this

प्रतिकृया

Add