दुई खानेपानी आयोजना हस्तान्तरण र उद्घाटन

 बिहिबार, चैत्र ५, २०७७ | onlinenews
Share this

रामेछाप– सुनापति गाउँपालिका– ५ र ३ का २ वटा खानेपानी आयोजना हस्तान्तरण तथा उद्घाटन गरिएको छ । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना र हिलेदेवीको कामाखोला खानेपानी आयोजना उद्घाटन तथा उपभोक्तालाई हस्तान्तरण गरिएको हो ।
खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना सम्पन्न गर्नका लागि कूल १ करोड १ लाख ३ हजार ६ सयको लागत लागेको थियो । सो योजनामा सम्पन्न गर्न सामुदायिक विकास समाज÷महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको २७ लाख २ हजार १ सय, गाउँपालिकाको ३० लाख, वडा कार्यालयको ३० लाख र समुदायको १४ लाख २ हजार ५ सय स्रोत साझेदारीमा सम्पन्न भएको हो । जसबाट दलित १४, जनजाति १४६, विद्यालय ३, गुम्वा १, मन्दिर १ र स्वास्थ्य संस्था १ गरी १६६ घरधुरीमा एक घर एक धारा निर्माण भएको थियो । ७० घनमिटरको ट्याङ्की, ५ हजार १ सय ५० मिटर मुख्य पाइप लाइन, १५ हजार ९ सय वितरण लाइन, इन्टेक ३ वटा, कलेक्सन चेम्वर २ वटा, विपिटी चेम्वर २ वटा निर्माण भएको सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।


उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यतामा र टिडिएच जर्मनीका देशीय संयोजक श्यामकृष्ण श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा परियोजनाका तर्फबाट हस्तान्तरण गर्दै सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले संस्थाको १९ वर्षे इतिहासमा सबैभन्दा ठुलो तथा धेरै घरधुरी लाभान्वित भएको योजना हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउदै संरक्षण एवं दीगो उपयोग हुने विश्वासका साथ योजना सम्पन्न गर्न वडा कार्यालय, गाउँपालिका, समुदाय तथा पिएसएफ लक्जेवर्ग, टिडिएच जर्मनीले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको लागि आभार समेत व्यक्त गरेका थिए ।
वडा अध्यक्ष ठुलोकान्छा तामाङले आफ्नो सपना साकार भएको बताउदै बाँकी रहेका योजना पनि समयमा सम्पन्न गर्न प्रतिवद्ध रहेको बताए । बल र बुताले भ्याएसम्म जनतालाई खानेपानी, सडक, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्न आफू लागि परेको बताएका थिए । दातृ निकाय टिडिएच जर्मनीमा देशीय संयोजक श्यामकृष्ण श्रेष्ठले सुनापतिको स्वास्थ्य तथा सरसफाइको अवस्थामा सुधार गर्नका लागि परियोजनाको साथमा स्थानीय सरकार रहेकोमा खुशी व्यक्त गरेका थिए । साझेदार संस्थाले खेल्नु पर्ने भूमिका कुनै कसरत बाँकी नराखी नागरिकको सेवामा लाग्ने बताए । ५ वटा वडाहरुमा स्वास्थ्य सुधार, पूर्ण सरसफाइका गतिविधिहरु संचालन, खानेपानी तथा सिँचाइमा काम गर्ने बताउदै स्थानीय सरकारको पूर्ण सहयोग र नागरिकको महत्वपूर्ण भूमिकाको अपेक्षा गरेका थिए । खानेपानी सम्पन्न भए पश्चात सरसफाइमा सुधार हुने र करेसाबारी प्रवद्र्धन भइ आयआर्जनमा टेवा पुग्नेमा विश्वास रहेको बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष धावा लामाले आयोजना सम्पन्न गर्न योगदान दिने प्रति धन्यवाद ज्ञापन गर्दै स्थानीय सरकारले एक घर एक धारा अभियान साकार पार्न लागि परेको बताए । पालिकाको पूर्वाधार विकास, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनको क्षेत्रमा भएको उल्लेख्य कामको जानकारी गराउदै दातृ निकाय र साझेदार संस्थाले अझ बढी कार्यक्रम र बजेट ल्याउन आग्रह गरेका थिए । आफू र आफ्नो सरकारले स्रोत साझेदार गर्न तत्पर रहेको बताउदै सो कार्यमा साथ र सहयोग गरिदिन नागरिकलाई आव्हान समेत गरेका थिए । कार्यक्रममा आयोजना सम्पन्न गर्न योगदान दिने प्रति सम्मान गरिएको थियो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष तिलक बहादुर मानन्धरको अध्यक्षतामा र सचिव उमेश श्रेष्ठको संचालकत्वमा सम्पन्न भएको कार्यक्रममा गोपाल श्रेष्ठले स्वागत गरेका थिए । सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, टिडिएच जर्मनीका देशीय संयोजक श्यामकृष्ण श्रेष्ठ, सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले संयुक्त रुपमा रिवन काटेर र धारा खोलेर उद्घाटन गरिएको थियो भने पालिकाकी उपाध्यक्ष गीता विष्टले साँचो हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा आयोजनाका पूर्व अध्यक्ष आनन्दराज तामाङ, वडा सदस्य प्रेमसागर थापाले पनि मन्तव्य राखेका थिए ।


स्मरण रहोस् परियोजनाको सहयोगमा खनियापानीमा ५ वटा खानेपानी आयोजनाबाट ४ सय ४ घरधुरीमा एक घर एक धारा सम्पन्न भएको छ ।
त्यसै गरी सुनापति गाउँपालिका वडा नं. ३ हिलेदेवीमा रहेको कामाखोला खानेपानी आयोजना अन्तरगत एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको आयोजना पनि हस्तान्तरण गरिएको छ । ७५ वटा धारा पोष्ट निर्माणका लागि वडा कार्यालय र सामुदायिक विकास समाज÷महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाले सहयोग गरेका थिए ।

Share this

प्रतिकृया

Add