मन्थली नगरपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै

 शुक्रबार, कार्तिक २६, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । मन्थली नगरपालिकाले अध्यापन अनुमति–पत्र प्राप्त गरेका आफ्नो क्षेत्रभित्रका विद्यार्थीहरुका लागि निःशुल्क आधारभूत तहको शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले एक सूचना जारी गरी तयारी कक्षामा सहभागी हुन चाहने योग्य विद्यार्थीहरुलाई निवेदन पेश गर्न आह्वान गरेका छन् ।
चालू आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत कार्यक्रमबाट सञ्चालन हुन लागेको आधारभूत तह (१–५) को पाठ्यक्रममा आधारित रही शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागिएको मन्थली नगरपालिकाले जनाएको छ ।
तयारी कक्षामा सहभागी हुन चाहने योग्य विद्यार्थीहरुले आजको मितिले आगामी मंसिर ६ गते सोमबारसम्म आवश्यक कागजातसहित निवदेन पेश गर्न सक्नेछन् । तयारी कक्षामा सहभागी हुन आउने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता प्रवीणता प्रमाण–पत्र तह अर्थात् कक्षा १२ उत्तिर्ण गरेको हुनुपर्नेछ भने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र अध्यापन अनुमति–पत्र अनिवार्य प्राप्त गरेको हुनुपर्नेछ । तयारी कक्षामा सहभागी हुन आउने नगरभित्रका दलित, जनजाति, महिला र अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ ।
तयारी कक्षा कहिलेबाट सुरु हुन्छ भन्ने चाहिँ खुलाइएको छैन । तर, बिहान ६ बजेदेखि साँढे १०ः०० बजेसम्म करिब साँढे चार घण्टा कक्षा सञ्चालन हुनेछ, सूचनामा भनिएको छ ।

Share this

प्रतिकृया

Add